Listen LIVE

ड्रागनफ्रुटको खेतीबाट बाँकेका तिलबहादुर उत्साहित

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका –४ एफ गाउँका किसान तिलबहादुर श्रीष मगर केही समय पहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्थे । तर विदेशमा सिकेको सीप गाउँमै काम लागेपछि उनी परिवारसहित घरमै बसेर काम गरिरहेका छन् । 

विगतमा मलेसियामा बिताएका मगरले १० वर्षमध्ये ६ वर्षभन्दा बढी समय ड्रागन फर्ममा बिताए । फर्कदा २०७३ सालमा एउटा ड्रागन फलको विरुवा साथमा लिएर आए । त्यसलाई बारीमा रोपे । 

उनी फेरि मलेसिया काममा गए । त्यसपछि मलेसियाबाट फर्केपछि करिब ६ वर्षदेखि उनी फेरि विदेश नजाने गरी ड्रागन फल उत्पादनमा लागेका छन् । अहिले उनको गाउँमा मात्र धेरै जनाले ड्रागनफ्रुटको खेती गरेका छन् । उनकी पत्नी तिलसरा श्रीषमगरसहित परिवारका अन्य सदस्यहरु पनि ड्रागनफ्रुट खेतीमा जुटेका छन् । 

अहिले उनले करिब एक बिघा जग्गामा ड्रागनको खेती गरेका छन् । पत्नी तिलसरा र घरपरिवारका सदस्यहरुले बारीको काममा सघाएपछि तिलबहादुर घरबाहिरको बजारीकरणको काममा खटिने गरेका छन् । विगतमा भाटभटेनीलाई फल बिक्री गर्दैआएका तिलबहादुरले पछिल्लो समय कोहलपुरमा यो फल बिक्री गर्दै आएका छन् । 

दैनिकजसो ड्रागनफ्रुट खरिदका लागि घर र बारीसम्म मानिसहरु पुग्नेगरेका छन् । मगरले भने, “ड्रागनले क्रमशः फल उत्पादन दिन थालेको छ, विदेशमा कमाउने पैसा घरमा परिवारका सदस्यसँग बसेर कमाउन सकिन्छ भने किन विदेशमा काम गर्न जाने, मैले अब फेरि विदेश जाने सोच त्यागिसकेको छु । ”

विद्युतको पोल नढलेसम्म करिब २५–३० वर्षसम्म यसको उत्पादन राम्रो हुने उनको भनाइ छ । एउटा बोटबाट करिब २० किलोसम्म उत्पादन हुने गरेको छ । गर्मी र आकाशे पानी बढी हुने भएकाले बाँके लगायत तराईका जिल्लामा यसको राम्रो उत्पादन हुने मगरले बताए ।

प्रतिक्रिया