सल्यान : समथर मिलेको फाँट भरिने गरी लगाइएको काँक्राले गाउँ र फाँटलाई सुन्दर बनाएको छ । फाँटका गरामै पाकेका लटरम्म काँक्राले पहेँलपुर देखिन थालेको छ । अहिले किसानलाई काँक्राको बिउ निकाल्न भ्याइनभ्याइ छ ।
पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ सल्यानका किसानले सल्यानको फाँटमा २७ वर्षदेखि व्यावसायिक काँक्रा खेती गर्दै आएका छन् । भक्तपुर लोकल काँक्राको बिउ उत्पादन गरी गाउँमा बर्षेनि दुई करोडदेखि चार करोड रुपैयाँसम्म भित्र्याउने गर्छन् ।
अहिले करिब पाँच सय रोपनी क्षेत्रफलमा किसानले बिउका लागि काँक्रा खेती गरेका छन् । गत वर्षभन्दा यसपालि धेरै बिउ उत्पादन हुने किसानको अनुमान छ । किसानले काँक्राका साथै गोलभेँडा, आलु, काउलीलगायतका ताजा तरकारी पनि उत्पादन गर्दै आएका छन् ।
यहाँ उत्पादित काँक्राको बिउ पोखरा, काठमाडौँ हुँदै विदेशसमेत निर्यात हुन थालेको छ । दुई तीन वर्षपहिला प्रतिकेजी चार हजारदेखि पाँच हजार रुपियाँसम्म बिक्री हुने गरेको बिउ अघिल्लो वर्षदेखि मूल्य बढेर १० देखि १२ हजार रुपियाँसम्म पुगेको छ । यसपालि पनि बिउको मूल्य वृद्धि हुने विश्वास छ ।
२०५४ सालमा सल्यान सिँचाइ आयोजना निर्माण भएर १२ महिना सिँचाइ सुविधा भएपछि सल्यानका किसान व्यावसायिकरूपमा तरकारी उत्पादनतर्फ लागेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए ।
सल्यानगाउँका करिब ८० देखि ९० घरपरिवारले व्यावसायिक तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश जान छाडेको उनले बताए । बरु तरकारी बेचेर कमाएको पैसाले शिक्षामा लगानी गर्न थालेपछि पढाइमा आएको सुधारले पछिल्लो समय लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गर्नेको सङ्ख्या बढ्दो छ । गाउँबाट अहिले १२ जना युवा अधिकृत स्तरको सरकारी सेवामा भएको उनले बताए ।
कृषि पेसा गरेका यहाँका किसानको जीवनशैली नेपाल सरकारको खरिदार र सुब्बाभन्दा उच्च भएको उनले बताए । कृषि पेसामा परिश्रम गर्न सके जीवनशैली बदल्न सकिन्छ भन्ने उदाहरण सल्यानका किसानले दिएको वडाध्यक्ष आचार्यको भनाइ छ ।
१० वर्षदेखि ताजा तरकारी उत्पादनमा लागेका युवा किसान तिलक रिजालले परिश्रम गर्न सकेमा कृषिबाट राम्रो आम्दानी लिन सकिने बताए । उनले यो सिजनमा करिब छ रोपनी क्षेत्रफलमा बिउका लागि काँक्रा खेती गरेका छन् । गत वर्षभन्दा धेरैमा काँक्रा लगाएकाले यसपालि करिब १० लाख रुपैयाँ आम्दानी हुने आशा उनको छ ।
सल्यानका किसानले जग्गा भाडामा लिएरसमेत व्यावसायिक काँक्रा खेती गरेका छन् । वार्षिक ५५ हजार रुपैयाँमा पाँच रोपनी जग्गा भाडामा लिएर काँक्रा खेती गरेका मनबहादुर नेपालीले यसपालि करिब १० लाख रुपैयाँभन्दा बढीको काँक्राको बिउ उत्पादन हुने बताए ।
२५ वर्षदेखि ताजा तरकारी र बिउ उत्पादन गर्दै आउनुभएका हरिप्रसाद आचार्यले पनि यसपालि करिब सात रोपनी क्षेत्रफलमा काँक्रा खेती गरेका छन् । सुरुमा गाउँमा काँक्रा खेती भित्र्याउने भीमप्रसाद आचार्यले पनि यसपालि करिब ८० केजीभन्दा बढी बिउ उत्पादन हुने बताए ।
अन्य बालीभन्दा काँक्रा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सबै जमिनमा यसपालि काँक्रा खेती गरेको शिला पौडेलले बताइन् । उनले करिब सात रोपनी क्षेत्रफलमा यसपालि बिउ उत्पादनका लागि काँक्रा खेती गरेकी छन् ।
पछिल्ला दुई वर्षयता किसानले बिउको राम्रो मूल्य पाउन थालेपछि काँक्रा खेती गर्ने किसान बढेको सल्यानका अगुवा किसान एकनारायण पौडेलले बताए । काँक्राको बिउ बेचेर यहाँका किसानले वार्षिक न्यूनतम पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार