Listen LIVE

सिमकोटमा ६ करोडको आलु बिक्री

हुम्ला : जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष गाउँपालिकाका आठ वटै वडामा गरी छ करोड २५ लाख रुपैयाँ बराबरको आलु उत्पादन गरी बिक्री गरिएको  बताए । गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा १२ हजार पाँच सय क्विन्टल आलु उत्पादन भएको छ । सदरमुकाम सिमकोटमा आलु प्रतिकेजी ५० रुपैयाँ पर्छ । 

उनले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन पाँच सय क्विन्टल कम भए पनि आलु किसानका लागि आम्दानीको राम्रो स्रोत भएको बताए । आलु खेतीबाट आम्दानी हुने भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दा आलु उत्पादन गर्न सकेका हुन् । 

गाउँपालिकाका अधिकांश घरधुरीमा आलु खेती गर्ने गरिन्छ । उनले त्यसैले प्रत्येक घरधुरीको आम्दानीको स्रोत आलु नै भएको बताए । यो आलु सिमकोट बजार, ठेहे,  खार्पुनाथ र सर्केगार्ड गाउँपालिकासम्म जाने गर्छ । आलु खेती आम्दानीको स्रोत भएका कारण गाउँपालिकाले आलु खेतीलाई विस्तार गर्ने कार्यक्रमसमेत ल्याउने जानकारी उनले दिए । गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएका कारण हुम्लाको आलु विषादीरहित हुने गरेको छ ।

प्रतिक्रिया