नेपालगञ्ज : सहरी क्षेत्रमा हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनीकरण र तत्काल प्रतिकार्यलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले नगरपालिकाका विभिन्न ठाउँमा रहेका प्रहरी बिटहरूलाई अग्नि नियन्त्रण उपकरण प्रदान गरेको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपाललाई नगरपालिका भित्र विभिन्न स्थानमा रहेका प्रहरी बिटका लागि अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरे ।
नगर प्रमुख आचार्यले नगरपालिकाभित्र आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत नगरपालिकाका विभिन्न प्रहरी बिटहरूलाई उक्त उपकरण हस्तान्तरण गरिएको बताए । सहरी क्षेत्रमा विभिन्न कारणले हुने गरेका आगलागी घट्नाको जोखिम घटाउन यो कार्य गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागीबाट ठुलो जनधनको क्षति भएका घटना सार्वजनिक भइरहेका बेला नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो तयारी गरेको हो । नगरपालिकाले आगलागीबाट बच्न आवश्यक सतर्कता अपनाउन नगरवासीलाई बेला–बेलामा आग्रह पनि गर्दै आएको छ ।
साथै, आगलागी लगायतको कुनै पनि विपद्जन्य घटना भएमा आपत्कालीन अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरको ९८५८०९०२१२ र नगर प्रहरी कार्यालय कोहलपुरको ९८५८०१४१११ नम्बरमा सम्पर्क गर्न अनुरोध समेत नगरवासीलाई गरिएको छ ।
नगरपालिकाले सुरक्षा र सावधानी अपनाउँदै विद्युत उपकरणको प्रयोग र आगलागी हुने वस्तुबाट टाढै रहन पनि अनुरोध गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार