हुम्ला : सहकारी संस्थाहरूमा आबद्ध अगुवा किसानहरूलाई कृषि सामाग्री सहयोग गरिएको छ । व्यवसायी तरकारी खेतीबाट उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सहयोग पुर्याउनका लागि यी कृषि सामाग्री सहयोग गरिएको हो ।
व्यवसायी रूपमा तरकारी खेती गर्दै आएका किसानहरूलाई थप तरकारी उत्पादनमा सहयोग पुर्याउन कृषि औजार सहयोग गरिएको एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक रमेश बहादुर शाहीले बताए । हाल उनीहरूले तरकारी खेती गरेर आम्दानी गरी रहेको र अझै तरकारी खेती गर्नका लागि हौसला प्रदान गर्न र सहयोग पुर्याउन कृषि सामाग्री सहयोग गरिएको उनले बताए ।
कृषकहरूको जीविकोपार्जन सुधार तथा वातावरण मैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउनको लागि दुई वटा गाउँपालिकाका तीन वटा सहकारी संस्थाका २६० जना सदस्यहरूलाई सामाग्री प्रदान गरिएको हो । हाल कुल सदस्य मध्य १८० जना किसानहरूले तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । खार्पुनाथ गाउँपालिकाको दुधकुन्ड महिला विकास बहूद्देश्यीय सहकारी संस्था (छिप्रा, माजा र नल्ना)का १२६ जना, सिमकोट गाउँपालिकाको पन्चमुखी दुधेदह कृषि सहकारी संस्था (सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम र बुराउँसे) का ८४ जना र सिमकोट कै मस्टदेब कृषि सहकारी संस्था ठेहेका ५० जना कृषकहरू ती सामाग्री प्रदान गरिएको हो । जसमा २४१ जना महिला र १९ जना पुरुष सदस्यहरूलाई सामाग्री प्रदान गरिएको हो ।
समुदाय स्तरमा नै प्रविधिको प्रयोग गर्न सिकाउनको लागि सिकाई केन्द्र स्थापना गर्न सामुदायिक सिकाई केन्द्रका लागि आवश्यक पर्ने कृषि सामाग्री समेत प्रदान गरिएको छ । प्रदान गरिएका कृषि सामाग्रीहरूमा गार्डेन पाइप, बाल्टी, नङ्ग्रे, स्प्रिङकल, कुटो, स्प्रे ट्याङ्क, ड्रम लगायतका रहेका छन् । सबै किसानहरूले २६० रोपनी जग्गामा तरकारी खेती गरेर ६५ टन तरकारी उत्पादन गर्न सफल भएको उनले बताए ।
यस सामाग्री खरिद तथा ढुवानीका लागि दुई लाख ८९ हजार रुपैयाँ खर्च गरिएको छ । यो कार्यका लागि गुडनेवर्स इन्टरनेशलन नेपालले आर्थिक सहयोग गरेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार