नेपालगञ्ज : बाँकेमा धान उत्पादन बढ्ने भएपछि किसान उत्साहित भएका छन् । धान रोप्ने समयमा अनुकूल पानीदेखि सिँचाइ गर्ने बेला समेत बर्सात भएकाले धान उत्पादन राम्रो हुँदा किसान उत्साहित भएका हुन् ।
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा ३४ हजार ५ सय २ हेक्टर जमिनमा धान खेती गरिने बताएको छ । अघिल्लो बर्ष प्रति हेक्टर ४.२ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष बढ्ने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठले बताए । धानले पर्याप्त पानी पाएका कारण उत्पादन राम्रो भएको श्रेष्ठको भनाई छ ।
“एकातिर सिक्टा सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र बढ्दै गएको छ भने अर्कोतर्फ यस बर्ष धान रोप्ने बेला र पसाउने बेला पनि राम्रो पानी परेकाले धान बाली सप्रिएको छ,” श्रेष्ठले भने ।
जानकी गाउँपालिका वडा नम्बर ५ गुरुवा गाउँका किसान राम बहोरी कुर्मीले धान राम्रो फलेपछि निकै खुशी लागेको बताए । “मेहनत अनुसारको प्रतिफल देखिएको छ, यसपटक मौसमले पनि साथ दिएको छ,” कुर्मीले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार