Listen LIVE

छ हजार बोरा मल गोदाममा, पत्र नआएर वितरण रोकियो

नेपालगञ्ज : बाँकेका किसान रासायनिक मल नपाएर चरम अभाव सामना गरिरहेका छन् तर बाँकेकै लागि आएको करिब छ हजार बोरा युरिया भने एउटा पत्र नआउँदा तीन÷चार दिनदेखि थन्किएर बसेको छ । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र पठाउन ढिलाइ गर्दा मल वितरणमा ढिलाइ भएको छ ।  तीन÷चार दिनदेखि मल आउने क्रम जारी रहे पनि कोटा निर्धारणको पत्र आउन ढिलाइ भएकाले वितरण गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । 

उक्त कार्यालयका प्रमुख वासुदेव उपाध्यायले सोमबार अपराह्न मात्रै कोटा निर्धारणको पत्र आएकाले मङ्गलबार बिहानैदेखि मल वितरण गरिने बताए । यसअघि आइतबार पनि मल दिने भनेर किसानलाई बोलाइए पनि उनीहरू रित्तो हात फर्केका थिए । उनले बाँकेका आठ वटा पालिकाका लागि करिब छ हजार बोरा मल आएकाले कोटा अनुसार सबै पालिकामा मङ्गलबार पठाइने तथा पालिकाले डिलरमार्फत वितरण सुरु गरिने बताए । 

प्रदेश कृषि मन्त्रालयको सचिवस्तरीय समितिले कोटा निर्धारण गरेर भैरहवास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालयमा पत्र पठाउने तथा सो कार्यालयले नेपालगञ्जस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रदेश कार्यालयमा सोही पत्र पठाउने गरिएको छ । 

यसैबिच किसानले प्रहरीलाई लालपुर्जा देखाएर भारतबाट मल ल्याउनुपर्ने बाध्यता आएको छ । 

नेपाल किसान महासङ्घको टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरलाई भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकाले त्यसमा सहजीकरण गरिदिन आग्रह गरेको थियो । त्यसैका आधारमा प्रहरी प्रमुख घर्तीमगरले जग्गाको लालपुर्जाको फोटोकपी देखाएर एक दुई बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई मौखिक निर्देशन दिएको बताए । किसानले मल नपाएपछि नेपाल किसान महासङ्घ बाँकेले विभिन्न सरोकारवालालाई सोमबार भेटेर सहज रूपमा मल उपलब्ध गराउन पहल  गरेको थियो । टोलीले कृषि सामग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा पुगेर समयमै रासायनिक मल उपलब्ध गराउन दबाब दिएको महासङ्घ बाँकेका सचिव ललितकुमार रौनियारले बताए । 

महासङ्घको टोलीमा नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाल किसान महासङ्घ बाँके क्षेत्र नं. २ का सभापति सुरेन्द्रकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया