बर्दिया : बर्दियाको एक गरिब परिवारका आठ वर्षीय बालिका पाँच वर्षदेखि बाख्राको खोरमा बाँधिएर जीवन बिताइरहेकी छन् । मधुवन नगरपालिका–५ को १० नम्बर गाउँ बस्ने एक गरिब परिवारकी आठ वर्षीय बालिकालाई मानसिक तथा शारीरिक समस्याका कारण घरपरिवारले नियन्त्रण गर्न कठिन भएपछि उनलाई बाख्राको खोरमा राखिएको छ ।
दिउँसोको गर्मीमा खरले छाएको बाख्राको खोरमा बालिका सुतिरहेकी देख्न सकिन्छ । कपडाले बाँधेर परिवारले ती बालिकालाई सुताएर राख्ने गरेको छ । नजिकैको गोठमा गाईहरू उग्राइरहेका बेला बालिका भने चुपचाप सुनेर बस्ने गरेकी छिन् ।
आमा पार्वती गाहामगरले बालिकालाई नियन्त्रण गर्न नसकेर बाख्राको खोरमा बाँध्नु परेको बताइन् । उनका अनुसार सुरुमा स्वास्थ्य समस्या देखिए पनि उमेर बढ्दै जाँदा गम्भीर समस्या देखा पर्न थालेका छन् । पहिले खाट वा रुखमा बाँध्ने गरिएको थियो ।
बाँधेको डोरी खोलेर भाग्ने, हराउने र जथाभाबी व्यवहार गर्ने समस्या बढेपछि बाख्राको खोरमा राख्न बाध्य भएको आमा पार्वतीले जानकारी दिइन् । आमा पार्वतीले भावुक हुँदै भनिन, 'उपचार गर्ने पैसा छैन, खुला छोड्दा हराउँछे । मन त कहाँ हो र यसरी खोरमा बाँधेर राख्ने तर बाध्यता छ ।'
बालिका साढे दुई वर्षको उमेरदेखि बिरामी परेकी हुन् । सुरुमा उच्च ज्वरो आएपछि नेपालगञ्ज उपचारका लागि लगिएको भए पनि पछि हातखुट्टा नचल्ने, काँप्ने र असामान्य व्यवहार देखिन थालेको परिवारको भनाइ छ । भारतको कल्लुगौँडीमा सामान्य उपचारपछि केही सुधार भए पनि आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको परिवारले बताएका छन् ।
परिवारका अनुसार बालिका कहिले सामान्य व्यवहार गर्छिन् भने कहिले असामान्य गतिविधि देखाउँछिन् । कहिले सबैलाई चिन्छिन् भने कहिले चिन्दिनन् । मामा नारायण गुरुङले भने, 'भोक लाग्यो पनि भन्दिनन्, आफैँ खुवाउनु पर्छ । कहिलेकाहीँ घरबाट भागेर नजिकैको भारतीय जङ्गलतर्फ जान खोज्ने भएकाले नियन्त्रण गर्न कठिन भएको हो ।'
परिवारको आर्थिक अवस्था कमजोर छ । आमा पार्वती लामो समयदेखि माइतीमै बस्दै आउनुभएको छ भने परिवारका सदस्य मजदुरीका लागि भारतमा जाने गरेका छन् । घरमा आमाबाहेक मुख्य आयस्रोत नहुँदा उपचार खर्च जुटाउन नसकिएको उनीहरूको भनाइ छ ।
घटनाबारे जानकारी पाएपछि मधुवन नगरपालिका–५ का वडाध्यक्ष दिलीप गुरुङले तत्काल पाँच हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । उनले थप उपचारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए । मधुवन नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख इन्द्र चुनाराले बालिकाको अवस्था बुझ्न टोली पठाइएको र तत्काल उपचारका लागि पहल गरिएको जानकारी दिइन् । उनले उपचार सम्भव नभए अपाङ्गता परिचयपत्र बनाउने प्रक्रिया अघि बढाइने बताइन् ।
स्थानीय तह र सम्बन्धित निकायले समयमै समन्वय गरी बालिकाको उपचार र संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । बालिकाको दयनीय अवस्थाले मानव अधिकार र बाल संरक्षणको सवाललाई फेरि एक पटक गम्भीररूपमा उठाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार