Listen LIVE

पूर्व प्रहरी अधिकृत कृष्णमोहन व्यावसायिक खेतीमा सक्रिय

नेपालगञ्ज : नेपाल प्रहरीबाट अवकाश लिएपछि कृषि पेशामा फर्किएका कृष्णमोहन थारु अहिले व्यावसायिक खेतीमा सक्रिय छन् । बाँकेको बैजनाथ गाउँपालिका–८ मा रहेको आफ्नै के.एम. कृषि फर्ममार्फत उनले सात वर्षदेखि तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका छन् ।

चार कठ्ठा जमिनमा तरकारी र पाँच बिघा क्षेत्रमा धान–गहुँ खेती गर्दै आएका थारु ७० प्रतिशत अनुदानमा मिनी टिलर प्राप्त भएपछि उत्साहित छन् । यसअघि निजी लगानीमा मिनी टिलर किनेका थारुले यान्त्रिक उपकरणको सहज उपलब्धताले उत्पादनमा थप मदत पुगेको बताए ।

बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्षको ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषकलाई पावर टिलर, मिनी टिलर, च्याप कटर, ई–लोडर अटो लगायतका उपकरण ७० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार कृषकको माग, अनुभव र संवादका आधारमा योजना तयार पारिएको हो । हालसम्म १०२ वटा मिनी टिलर र २१ वटा पावर टिलर वितरण भइसकेको उनले जानकारी दिए । “निर्वाचनको बेलाको प्रतिवद्धता कार्यान्वयनको चरणमा छौं,” अध्यक्ष शाहीले भने ।

कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले पालिकाले यान्त्रिकीकरणसँगै सिँचाइ, ढुवानी, भण्डारण, बीउ र उपकरणको व्यवस्था गर्दै आएको बताए । उनका अनुसार ७० प्रतिशत अनुदानमा टिलर र ई–लोडर वितरण, ५० प्रतिशतमा बीउ तथा खाद्य भण्डारण गोदाम निर्माण, र ११ जना कृषकलाई ई–लोडर वितरण गरिएको छ ।

त्यसैगरी, आकस्मिक अवस्थाका लागि ‘कृषि एम्बुलेन्स’ सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया