म्याग्दी : बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्षमा दस लाख पाँचास हजार रुपैयाँ बजेट विनियोजन गरेर सात वटा समूहका करिब दुई सय किसानलाई तरकारी खेतीसम्बन्धी प्राविधिक ज्ञान, विषादीको प्रयोग, बाली लगाउने तरिका लगायतका व्यवहारिक तथा सैद्धान्तिक विषयमा दक्ष बनाई सक्षम किसान उत्पादन गर्ने उद्देश्यले कृषक पाठशाला सञ्चालन गरिएको हो ।
समूहमार्फत सञ्चालन हुने कृषक पाठशालामा बिउ लगाउनेदेखि फल टिपेर बजार लैजान अवधि सम्मका सम्पूर्ण प्राविधिक ज्ञानहरू सिकाएर कृषकलाई दक्ष बनाउने योजना रहेको बेनी नगरको कृषि शाखा अधिकृत आकृति ढुङ्गानाले बताए । आइपिएम कृषि पाठशाला सञ्चालनका लागि प्रत्येक समूहलाई एक लाख पचास हजारका दरले रकम प्रदान गरिएको ढुङ्गानाले जानकारी दिए । कृषि पाठशाला सञ्चालन गर्न आवश्यक पर्ने बिउबिजन र अन्य सामग्री कृषि शाखाले नै उपलब्ध गराएको छ ।
वडा नम्बर १ र ४ मा गोलभेडा खेती, वडा नम्बर २ मा काउली खेती, ३ मा अकबरे खुर्सानी खेती, वडा नम्बर ५ र ९ मा आलु खेती र वडा नम्बर ६ मा कोशेवालीसम्बन्धी कृषक पाठशाला सञ्चालन गरिएको उनले जानकारी दिए । वडा नम्बर ५ र ९ मा सञ्चालन भएको पाठशाला सम्पन्न भइसकेको उनले जानकारी दिए ।
आइपिएम कृषक पाठशाला सहजकर्ताहरूले बाली लगाउनेदेखि फल टिप्नेसम्मका सम्पूर्ण सिप र प्रविधिका बारेमा सिकाउने कृषि शाखा अधिकृत ढुङ्गानाले बताए । नगरका सात वटा समूहहरूमा हरिराम पौडेल, क्षेत्रबहादुर कटुवाल र सोवित शर्मा आइपिएम सहजकर्ताका रूपमा खटिएका छन् ।
कृषक पाठशालामार्फत कृषकलाई मित्र र शुत्र जिव पहिचान गर्न सिकाएर स्थानीय रूपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ कृषि उपज उत्पादन हुने वडा नम्बर ६ डम्बरा सञ्चालन भएको आइपिएम कृषक पाठशालाका सहजकर्ता सोवित शर्माले बताए ।
उनले भने, ‘‘कृषक पाठशालामार्फत खेतबारीमा बिउ लगाउने तरिकादेखि, फल टिप्ने बेलासम्मका सम्पूर्ण ज्ञान सिकाउने गरेका छौं । बाली हेरेर १८ देखि २२ हप्ता सम्म कृषक पाठशाला सञ्चालन हुन्छ । हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गर्दै आएका छौं ।’’ कृषि पाठशालामार्फत फिल्डमै लगेर किसानलाई सिकाउने भएकाले यसबाट दक्ष किसान उत्पादन हुने उनले बताए ।
पाठशालामार्फत तीतेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छौं कृषक पशुपति भण्डारी क्षेत्रीले भने, ‘‘रासायनिक मल र विषादीका प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गरेका छौं ।’’
प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा खेती गरिएको उनले बताए । एउटा पाठशालामा २० देखि २५ जना कृषक समूह सहभागी भएका छन् । डम्बराको समुहमा सहभागी सबैजना महिलाहरू छन् ।
तरकारी उत्पादनसम्बन्धी ज्ञान सिप र प्राविधिक कुराहरू व्यवहारिकरूपमा सिक्न पाउँदा खुसी लागेको बेनी नगरपालिका ६ डम्बराकी कमला परियारले बताइन् । उनले भनिन, ‘‘कृषक पाठशाला मार्फत बिउ लगाउनेदेखि गोडमेल गर्ने, सिमीमा थाक्रो हाल्ने तरिका, जैविक विषादी बनाएर प्रयोग गर्ने तरिका लगायतको सिप सिकेको छु । अब आफ्नै खेतबारीमा राम्रो तरिकाले तरकारी उत्पादन गर्न सक्ने भएकी छु ।’’ कृषि पाठशालाले व्यावसायिक कृषक बन्न सहयोग पुगेको उनले बताइन् ।
डम्बरास्थित आइपिएम कृषक पाठशालामा सहभागी भएका २२ जना महिलाले अहिले सामुहिक रूपमा सिमी र मिटर बोडी उत्पादन गरेका छन् । उत्पादन गरेको सिमीलाई महिलाहरूले बजार लगेर बिक्री समेत गरेको पशुपति भण्डारी क्षेत्रीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार