Listen LIVE

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै थारु महिला

दाङ : दाङको घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँकी खिमा चौधरी अचेल दैनिकी फेरिएको छ । कुनै बेला उनको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्थ्यो तर अचेल उनी छिट्वामा तरकारी बोकेर साँझबिहान घोराही बजार पुग्छिन् ।

झिसमिसेमै घोराहीको फूटपाथमा भेटिएकी खिमा भन्छिन्, “तरकारी बेचेर दैनिक तीन–चार हजार कमाइ हुन्छ । राम्रो भएको दिन त पाँच–सात हजारै पुग्छ । तरकारी बेचेर दैनिक घरखर्च त चलेकै छ, छोराछोरी पढाउन पनि सहज भएको छ ।“ कुनै वेला अरुको जग्गा अधिया खेति गर्थे, त्यसबेला घरखर्च धान्न मुश्किल भएपछि तरकारी खेतीमा लागिन् । उनका अनुसार एक कट्ठाबाट तरकारी खेती गर्न सुरु गरेर अहिले एक बिघामा तरकारी फैलाएकी छन् । 

“सुरु सुरुमा गाह्रो भए पनि अहिले बानी परिसक्यो,” उनले भनिन, “मेरो काम नै बाह्रै महीना तरकारी फलाउने र फूटपाथमा लिएर बेच्ने हो ।”

प्रायः बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने गरेको खिमाले बताइन् । काउली, बन्दा, भिन्डी, करेला, भान्टा, लौका, टमाटर, गोलभेंडा लगायत तरकारी उनको बारीमा उब्जिन्छन् । त्यस्तै आलु, प्याज र लसुनको पनि राम्रो उत्पादन हुने गरेको उनले जानकारी दिइन् ।

यस्तै सोही गाउँकै रिता चौधरी पनि छिट्वामा तरकारी बेच्न बिहानै घोराहीका फूटपाथ पुग्छिन् । परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी भएको उनले सुनाइन् । “दिनको दुई–तीन हजारको बिक्री हुन्छ,” रिताले भनिन, “घरखर्चसँगै छोराछोरीलाई पढाउन पुग्छ ।”

त्यस्तै सुवासी चौधरीले त तरकारी बेचेरै मनग्य आम्दानी गरिरहेकी छन् । उनले तरकारी खेतीबाट गाउँमा घर समेत बनाएकी छन् । “तरकारी खेतीबाट छोराछोरीलाई पढाएँ,” उनले भनिन, “सानो घर पनि बनाएकी छु ।” उनीहरू जस्तै थारू समुदायका महिला घोराहीको फूटपाथमा तरकारी बिक्री गरिरहेका भेटिन्छन् । “हामीहरु दिनभर खेतमा काम गर्छाैं, सुवासीले भनिन, “बिहान र साँझ छिट्वामा तरकारी बोकेर सहर छिर्छौं ।”

“आफैंले उत्पादन गरेको तरकारी आफैंले बेच्दा फाइदा हुन्छ,” गाउँकै विनीता चौधरी भनिन, “व्यापारीलाई दिँदा सस्तोमा दिनुपथ्र्यो, आफूले बेच्दा बजार भाउ पनि राम्रो मिल्छ ।” पहिले उनी धान, गहुँको खेती गर्थिन् । तर, जुन आफूलाई खान मात्रै पुग्थ्यो । त्यसपछि तरकारी खेती गर्न थालिन् तरकारी खरीद गर्न व्यापारीहरू गाउँमै पुग्थे तर उनीहरूले भनेको भाउमा बेच्नुपथ्र्यो । आफैंले बजार ल्याएर बेच्दा भने फाइदा भएको उनले सुनाइन् । “अहिले त व्यापारीलाई दिँदैनौ, साँझबिहान आफैं बजार आएर बेच्छौं।”

तरकारी खेती गर्न थालेपछि उनीहरु आफैं बेच्ने उद्देश्यले बजार ल्याउँछिन् । “छिट्वामा तरकारी बोकेर घर घर डुलाउछौ, उनले भनिन– पहिला सडकपेटिमा बसेर तरकारी बेच्छौ, त्यहाँ बेच्न बाँकी भयो भने, घर घरमा पुगेर बेच्छौ ।”

घोराही उपमहानगरले पनि छिट्वामा तरकारी बेच्ने किसाहरुको लागि सहज बनाइदिएको छ । फूटपाथमा तरकारी बिक्री गर्नलाई उपमहानगरपालिकाले छूट दिएको छ । यसका लागि भने निश्चित समय पनि तोकेको छ । उपमहानगरपालिकाले वास्तविक किसानहरुको लागि बिहान ९ बजेसम्म र साँझ ५ बजेपछि फूटपाथमा तरकारी बिक्री गर्न समय छुट्याएको हो ।

प्रतिक्रिया