Listen LIVE

सिंचाई सुविधापछि रोपाईंमा व्यस्त राप्तीसोनारीका बैरियाबासी

नेपालगञ्ज : गाउँमा सिंचाई सुविधा पुगेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ स्थित कुसुम, बैरिया घारीटोलका किसानले यसवर्ष समयमै रोपाई गर्न पाएका छन् । नजिकैबाट राप्ती नदी बगेपनि उक्त गाउँका किसानहरु सिंचाई सुविधाबाट बञ्चित हुनु परेको थियो । स्थानीय सरकारले उपलब्ध गराएको भूमिगत सिंचाई सुविधाले यसवर्ष बैरियाका किसानले समयमै धान रोपाई गर्न पाएको वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले बताए । 

‘गतवर्ष हामीले यो गाउँमा स्यालो ट्वीबेल गाडेका थियौं, यसवर्ष मोटर जोडेपछि किसानलाई खेती गर्न सजिलो भयो,’ उनले भने । भूमिगत सिंचाई प्रणालीमार्फत जमिन मूनिको पानी मोटरले तानेर किसानका खेत–खेतमा पुर्याएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको वडाअध्यक्ष खड्का बताउँछन् । 

उनका अनुसार १ नम्बर वडा कार्यालय, राप्तीसोनारी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारको समेत गरी कुल ९५ लाख रुपैयाँमा गतवर्ष टेण्डर भएको थियो । उक्त बजेटमध्ये २५ लाख रुपैयाँ प्रदेशले हालेको थियो, भने बाँकी बजेट स्थानीय सरकारको थियो । सोही बजेटबाट वडा नम्बर १ का विभिन्न गाउँ तथा टोलमा १३ वटा स्यालो ट्युबेल गाडिएको थियो ।

वडाध्यक्ष खड्काका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा वडा र गाउँपालिकाको ६८ लाख रुपैयाँको लागतमा २३ वटा स्यालो ट्युबेल गाडिएको छ । यि मध्ये १७ वटा हातले र ६ वटा मेसिनले गाडिएको वडाध्यक्ष खड्काले बताएका छन् । पानीको सतह घट्दै गएकाले प्रायः स्यालो ट्युबेल ५४ देखि ६६ मिटर गहिरो गाडिएको छ ।

प्रतिक्रिया