Listen LIVE

रासायनिक मल बिनानै रोपाईंमा जुटे बर्दियाका किसान

बर्दिया : मानो रोपेर मुरी फलाउने यो समयमा पश्चिमको अन्नभण्डार मानिने बर्दियाका किसान अहिले खेतबारीमा व्यस्त छन् । धान रोप्न खेत पसेका किसानको हातमा रासायनिक मल भने छैन । बर्दियाका किसानलाई यस वर्ष मनसुनले साथ दिए पनि मल नपाउँदा सरकारले साथ नदिएको अनुभूत गरिरहेका छन् । 

बजारमा मल अभाव हुँदा धानको बिउ रोप्ने समयमै दुःख पाइएको गुलरिया नगरपालिका–४, सुहेलवागाउँका कृषक मञ्जुर अली पठानले बताए । “मनसुन समयमै आयो, धानको बिउ राखियो तर अहिले धान लगाउने समयसम्म पनि युरिया मल आएन ।”

राजापुर नगरपालिकाका कृषक केशव शर्माले सहकारीले गाउँ गाउँमा बिक्री गर्ने मलसमेत एक बोरामा चार जनासम्मलाई भाग लगाएर दिने गरेको बताए । “खेतबारीमा पहिला जस्तो खेती पनि हुन्न, समयमा मल नपाउने हो भने उत्पादकत्व अझै घट्ने हो,” उनले भने, “मलको अभाव हामी जस्ता कृषकहरूले बर्सेनि दोहोरिने विवशता बनेको छ, चाहिएको बेला कहिल्यै पाइएन ।” 

बर्षेनि धान, गहुँ लगाउने समयमा कृषकको ध्यान खेतबारीमा काम गर्नेभन्दा पनि मलको जोहो गर्न मात्रै बढी समय केन्द्रित हुने गरेको छ । बर्दियामा ५० हजार २५० हेक्टर जमिनमा धान खेती हुने गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया प्रमुख सागर ढकालका अनुसार असारमा मात्रै १० हजार मेट्रिक टन युरिया मल जिल्लाका लागि आवश्यक छ तर गत वर्षभरिमा छ हजार ३४४ मेट्रिक टन मात्र युरिया बर्दियामा भित्रिएको तथ्याङ्क छ ।

प्रतिक्रिया