बर्दिया : बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पाक्न लागेको चैते धानमा गबारो जातको किरा फैलिदै गएको छ । किरा नियन्त्रणका लागि किटनाशक विषादी प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन ।
राजापुर–३ चख्खापुरकी अनिता चौधरी दुई सातादेखि फैलिएको गबारो नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहले किटनाशक प्रयोग गरे पनि रोकथाम हुन नसकेको बताइन् । 'विषादी प्रयोग गरेको ठाउँबाट किरा सरेर अन्यत्र फैलिदै गएको छ,' उनले भनिन्, 'यस वर्ष चैते धानको लगानी खेर जाने भयो ।'
दुई पालिकामा करिब ७ सय हेक्टर क्षेत्रफलमा चैते धानको खती हुन्छ । चैतमा लगाएको धान जेठ अन्तिम सातासम्म किसानले भित्र्याउने गर्छन् । पञ्चकन्या किसान समूह राजापुर–३ की सदस्य निलम चौधरीले किरा नियन्त्रणका लागि एक सातादेखि प्राविधिकको सल्लाहमा कारटाप हाइड्रोक्लोराइड नाम गरेको किटनाशक प्रयोग गरेको बताइन् । 'किरा नियन्त्रण भएन, झन् फैलिदै गएको छ,' उनले भनिन्, 'धान पाक्न लाग्दा किराको प्रकोप फैलिएपछि निकै चिन्तित छौं ।'
गेरुवा–१ का किसान हरिराम थारुले गबारो किराले बर्षेनि दुःख दिने गरेको बताए । यस वर्ष बढी फैलिएपछि बिउ, मल र जोतेको खर्च नउठ्ने चिन्ता भएको उनले बताइन् । 'गबारोले धानको वाला र जरानै काटिदिँदा बोट सुक्दै जाने गरेको छ,' उनले भने, 'किटनाशकले कामै गरेन । गबारो जातको किराको पुतली धानको टुप्पोमा फुल पार्दे जरा भित्र पसेर क्षति पुरÞ्याउने गरेको छ ।'
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाई कार्यक्रमका कृषि अधिकृत युवराज विकले हरेक वर्ष एउटै खेतमा चैत धान लगाउँदा किरा फैलिने गरेको बताए । 'त्यसका लागि एक/दुई वर्ष बिराएर चैते धान लगाउनु पर्छ,' उनले भने, 'समयमा किरा फैलिएको जानकारी भए विभिन्न खालका किटनाशकबाट नियन्त्रण गर्न सकिन्छ ।'
गत वर्ष करिब ४ हजार २ सय १३ मेट्रिक टन चैते धान उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ईकाइले जनाएको छ । चैते धान बर्दियाको कर्णाली नदीले घेरिएको राजापुर र गेरुवा पालिकामा उत्पादन हुने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार