नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जले मध्यम धानको कोटा बढाएको छ। निर्धारित कोटाभन्दा बढी आएपछि खाद्यले मध्यम धानको कोटा बढाएको हो।
सुरुमा मध्यम धान दश हजार क्वीन्टल लिने कोटा निर्धारण गरिएको थियो। मध्यम धान बढी आएपछि १५ हजार क्वीन्टल कोटा बढाएर २५ हजार क्वीन्टल खरिद गरिएको छ। मध्यम धान अझै आइरहेको छ। खाद्यले जति आएपनि खरिद गर्ने रणनीति बनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जले वर्ष ३० हजार क्वीन्टल मोटा र दश हजार क्वीन्टल मध्यम धान गरी ४० हजार क्वीन्टल खरिद गर्ने कोटा निर्धारण गरेको थियो। मध्यम धानको कोटा बढाइएपनि मोटा धान कोटा अनुसार नै पाउन सकिएको छैन। ३० हजार क्वीन्टल मोटा धान खरिद गर्ने भनिएकोमा अहिलेसम्म ५ हजार २ सय क्वीन्टल खरिद गरिएको छ। मोटा धान धेरैं नआउने अनुमान गरिएको छ। मोटा धानको कोटा बढी रहेको र त्यो नआएपछि खाद्यले मध्यम धानको कोटा बढाएर लक्षित कोटा पूरा गर्ने चरणमा पुगेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले मोटा धान धेरैं नआएपछि मध्यम धानको कोटा बढाएर निर्धारित लक्ष्य पूरा गर्नेतिर लागेको बताए। उनले मध्यम धान अझै आइरहेको र जुटको बोरा नभएकाले केही दिनका लागि खरिद रोकेको र बोरा आएपछि ल्याइएका धान खरिद गर्ने जानकारी दिए।
खाद्यले यो वर्ष मध्यम धान तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र मोटा धान तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा प्रतिक्वीन्टलमा खरिद गरिरहेको छ। खाद्यले निर्धारण गरेको यो मूल्य बजारको भन्दा दुई अढाई सय बढी रहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार