नेपालगञ्ज : लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी थापा)मनोनित भएका छन् । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्दै उनीहरुको हौसला बढाउन आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्ड आगामी मङ्सिर १८ गते हुँदैछ । लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसारलाई तीव्रता दिनका लागि थापालाई संयोजकमा मनोनित गरिएको अवार्ड संयोजक चाहना शाहले बताईन् ।
संयोजकमा मनोनित थापा खेल पत्रकारितामा एक दशकदेखि सक्रिय छन । नागरिक दैनिकबाट पत्रकारिता सुरु गरेका थापा हाल कालपृष्ठ दैनिकको खेल विधा संयोजक हुन भने रंगशाला न्युजडटकमको सम्पादक रुपमा खेल पत्रकारितामा सक्रिय छ । फोटो पत्रकारितामा सक्रिय रहेका थापा नेपाली फुटबलको चर्चित टिम मनाङ मस्र्याङदी क्लब(एमएमसी) को फ्यान क्लब पूर्व अध्यक्ष समेत हुन् ।
लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको महत्त्वपूर्ण खेलकुद कार्यक्रमको संयोजकको जिम्मेवारी पाउनु गर्वको विषय भएको थापाले बताए । उनले भने, ‘‘खेलाडी र खेलकर्मीलाई यस्ता सम्मानको निकै आवश्यकता पर्छ । खेलाडीले मैदानमा सफलता हासिल गर्न कति मिहिनेत, तपस्या गरेका हुन्छन । त्यो सफलताको महत्त्व कति हुन्छ भन्ने कुरा समाजका आम मानिसले थाहा पाउनु पर्छ । यस्तो अवार्डले खेलाडीको हौसला बढाउन महत्वपुर्ण सहयोग गर्छ ।’’ कार्यक्रमलाई सफल बनाउने आफनो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्ने थापाले भने ।
लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ । एक साता अघि लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगञ्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौता पत्र आदान–प्रदान गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार