Listen LIVE

पाकिस्तानी सेनाको कारबाहीमा ३१ तालिवान लडाकूको मृत्यु

इस्लामाबाद : पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकू मारिएको दाबी गरेको छ । हाल ती क्षेत्रमा तालिवानको उपस्थिति बढ्दो क्रममा रहेको अधिकारीहरूले बताएका छन् । यो कारबाही शनिबार भएको आक्रमणपछि भएको हो । 

भएको आक्रमणमा पाकिस्तानी तालिबान (टिटिपी) ले दाबी गरेअनुसार छिमेकी जिल्लामा १२ जना सैनिक मारिएका थिए । सेनाले सोमबार ढिलो सार्वजनिक गरेको विज्ञप्तिमा सप्ताहन्तमा ३१ जना ‘ख्वारिज’ मारिएको जनाइएको छ । ‘ख्वारिज’ शब्द हाल अधिकारीहरूले टिटिपी लडाकूलाई सम्बोधन गर्न प्रयोग गर्दै आएका छन् ।

विज्ञप्तिमा पाकिस्तानले भारतमाथि आतङ्कवादीलाई सहयोग गरेको आरोप लगाएको छ । दुई आणविक शक्ति भएका छिमेकी मुलुक पाकिस्तान र भारतले लामो समयदेखि एकअर्कालाई आतङ्कवादी समूहलाई समर्थन गरेर अस्थिरता सिर्जना गरेको आरोप लगाउँदै आएका छन् । सेनाले उक्त क्षेत्रमा ‘भारतद्वारा प्रायोजित अन्य आतङ्कवादीलाई समाप्त गर्न सफाइ अभियान सञ्चालन भइरहेको पनि जनाएको छ ।

सन् २०२१ मा अफगान तालिबान काबुलमा सत्तामा फर्किएपछि अफगान सीमा क्षेत्रमा आतङ्कवादी गतिविधि बढेको हो । सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला दुई महिनामा टिटिपी लडाकूहरूको उपस्थिति अझै बढेको छ । टिटिपी अफगान तालिवानबाट अलग भए पनि नजिकको सम्बन्ध राख्ने समूह हो ।  यसले पाकिस्तानभित्रै सुरक्षा बलविरुद्ध आक्रमण गर्दै आएको छ । इस्लामाबादले अफगानिस्तानमाथि उसका आतङ्कवादीले पाकिस्तानमा आक्रमण गर्न अफगान भूमिको प्रयोग गरेको आरोप लगाउँछ । तर काबुलका अधिकारीहरूले यस्तो आरोप अस्वीकार गर्दै आएका छन् । एएफपीको तथ्याङ्कअनुसार यस वर्ष मात्रै उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा सशस्त्र समूहका आक्रमणमा चार सय ६० भन्दा बढी मानिस मारिएका छन् ।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष लगभग एक दशकयताकै सबैभन्दा घातक सावित भएको थियो । त्यस वर्षमा मात्र एक हजार छ सयभन्दा बढी मानिस मारिए । त्यसमा आधाभन्दा धेरै सैनिक र प्रहरी अधिकारीहरू परेका थिए । (रासस)

प्रतिक्रिया