बर्दिया : बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, बर्दियाका उपअनुसन्धान निर्देशकसहितको टोलीले जिल्लाका विभिन्न सुरक्षा निकाय तथा सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले प्रहरी चौकी गणेशपुर, प्रहरी चौकी शीतलाबजार तथा सीमा सुरक्षा चौकी (बीओपी) लौकाहीको निरीक्षण गरेको थियो। टोलीले सम्बन्धित सुरक्षा अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीहरूलाई शान्ति सुरक्षा थप सुदृढ बनाउन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमा अपराध नियन्त्रण गर्न र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए। साथै, नागरिकको सुरक्षाप्रति संवेदनशील हुँदै जिम्मेवारी निर्वाह गर्न समेत आग्रह गरिएको थियो।
टोलीले सीमा क्षेत्र तथा त्यहाँ कार्यरत शान्ति पुनस्र्थापना गृहको समेत स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा सीमा क्षेत्रमा हुने आवतजावत, सुरक्षा चुनौती तथा सीमा अपराधका सम्भावित जोखिमबारे जानकारी लिइएको थियो।
सीमा क्षेत्रमा चोरी–तस्करी, अवैध आवतजावत लगायतका गतिविधि हुन नदिन निरन्तर निगरानी बढाउन तथा सम्बन्धित सुरक्षा निकायबीच आवश्यक समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइएको थियो।
स्थलगत अनुगमनबाट सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायको कार्यसम्पादन, सुरक्षा अवस्था तथा सम्भावित चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त हुनुका साथै शान्ति सुरक्षा कायम गर्न र सीमा अपराध नियन्त्रणका लागि आवश्यक सुरक्षा रणनीति थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार