बर्दिया : सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा 'एक घर, एक अध्ययन कुनो' अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सम्पन्न भएको छ।
प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण जनसेवा केन्द्रद्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको सुरक्षित भविष्य परियोजना अन्तर्गत सञ्चालित उक्त अभियानमा स्थानीय सरकार, समुदाय, सरोकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो।
अभियानमा मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिनबहादुर थापाको सहभागिता रहेको थियो। उनले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह तथा लागुऔषध दुरुपयोगका कारण, जोखिम तथा नकारात्मक प्रभावबारे महत्वपूर्ण जानकारी गराउँदै बालबालिकालाई उचित हेरचाह, संरक्षण, मार्गदर्शन तथा शैक्षिक सहयोग प्रदान गर्न आग्रह गरे। उनले बालबालिकाको सुरक्षित, स्वस्थ र सकारात्मक विकासका लागि परिवार तथा समुदायले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी, कोठियाघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रोशनबहादुर पुन मगरले बालविवाह तथा लागुऔषध दुरुपयोगसँग सम्बन्धित कानुनी प्रावधान तथा दण्ड–सजायबारे जानकारी गराए।
उनले समयमै सूचना तथा उजुरी गर्ने, जोखिम पहिचान गर्ने र सामूहिक रूपमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए।
अभियानमा विभिन्न क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। युवा तथा किशोरकिशोरीहरूले घरदैलोमा पुगेर बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण, अभिभावकीय जिम्मेवारी तथा बालबालिकाको घरमै अध्ययन गर्ने वातावरण निर्माणका लागि 'एक घर, एक अध्ययन कुनो' को महत्वबारे परिवार तथा समुदायलाई जानकारी गराएका थिए ।
कार्यक्रमको व्यवस्थापन तथा समन्वय बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर मिनु थारु तथा राधाकृष्ण जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर दिक्ष्या बिष्टले गरेकी थिइन् । उनीहरूको स्थानीय समुदाय, सामुदायिक प्रहरी तथा सरोकारवालासँगको प्रभावकारी समन्वयले अभियानलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पु¥याएको थियो।
घरदैलो अभियानले बाल संरक्षण तथा बालविवाह र लागुऔषध दुरुपयोग रोकथामसम्बन्धी सन्देशलाई प्रत्यक्ष रूपमा परिवार तथा समुदायसम्म पु¥याउनुका साथै समुदायको सचेतना, स्वामित्व र सामूहिक जिम्मेवारीलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। साथै, बालबालिका, किशोरकिशोरी तथा युवाहरू स्वयं समुदायमा सकारात्मक परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने सन्देशलाई समेत अभियानले उजागर गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार