Listen LIVE

हलगोरुको कमाइ दैनिक दुई हजार

बैतडी : हलगोरु पाल्ने यहाँका किसानले दैनिक दुई हजार रुपियाँ कमाउन थालेका छन् । जिल्लामा आधुनिक कृषि उपकरण हाते ट्याक्टर भित्रिए पनि मकै लगाउने सिजनमा गोरुको माग बढेपछि हलगोरु पाल्ने किसानलाई खेत जोत्न भ्याइनभ्याइ हुन थालेको छ । 

गोरु जोतेर दैनिक दुई हजार पाँच सय ज्याला लिने गरेको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीका धनीराम लावडले बताए । उनले खर्च कटाएर सिजनमा दैनिक दुई हजार रुपैयाँ आम्दानी भइरहेको बताए । काठको हलो र फलामको फाली लगाएर मकै छर्न हलगोरु नै उपयुक्त देखिएकाले गोरुको माग बढेको उनले बताए । 

पहाडका ठुला कान्ला भएका गरामा मकै छर्न किसानको पहिलो रोजाइ गोरु नै बन्न थालेको छ । दशरथचन्द नगरपालिकामा मकै छर्न पञ्चेश्वरबाट समेत १२ हल गोरु ल्याइएको दशरथचन्द नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीले बताए । नगरपालिका क्षेत्रमा पछिल्लो समय बाँदर आतङ्कले खेती गर्ने किसान घट्दै गए पनि बर्खाको सिजनमा भने प्रायः सबै किसानले मकै लगाउने गरेका उनले बताए । 

बैतडी सदरमुकामको दशरथचन्द नगरपालिकामा गोरु पाल्ने चलन हटिसकेकाले खेत जोत्न बाहिरका पालिकाबाट मानिस आउने गरेको हलिया अगुवा राजुराम भुलले बताए । यद्यपि हल गोरु पाल्ने किसानले कतैबाट पनि अनुदान सहयोग नपाएको उनले बताए । 

हाते ट्याक्टरमा अनुदानको व्यवस्था भए पनि हलगोरु पाल्नेलाई कतैबाट सहयोग नमिलेको हलिया धनीराम लावडले गुनासो गरे । उनले वर्ष दिन गोरु पालेर सिजनमा खेत जोत्न हलो, जुवा, फाली जस्ता उपकरणमा खर्च हुने गरेको बताए । गोरु पाल्ने किसानलाई स्थानीय तहको सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने उनको माग थियो । 

गत वर्ष हाते ट्याक्टरले मकै छर्ने किसानको खेती नसप्रेपछि यो वर्ष गोरु जोतेर मकै छरेको दशरथचन्द नगरपालिका–४ का किसान ललित वडले बताए । तरकारी खेती गर्ने किसानलाई हाते ट्याक्टर राम्रो भए पनि मकै खेती गर्नेका लागि गोरु नै उपयुक्त रहेको उनले अनुभव सुनाए । 

जिल्लालाई वार्षिक ४८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा मकैले खाद्य जोहोमा ठुलो टेवा पुर्याएको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताए ।

प्रतिक्रिया