नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले बाँकेको किसानसँग ३१ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म ३१ हजार ६९० दशमलब ९८ क्विन्टल धान खरिद गरिसकेको जनाएको हो ।
गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको छ ।
३० हजार क्विन्टल मोटा धान र १० हजार क्विन्टल मध्यम गरी यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले पछि मध्यम धानलाई १५ हजार क्विन्टल थप गरी ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जका मुख्य शाखा प्रमुख रामशरण लामिछानेले बताए ।
“यस वर्ष हामीले नेपालगञ्ज कार्यालयबाट ३० हजार क्विन्टल मोटा र १० हजार क्विन्टल मध्यम गरी ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ, यहाँका किसानले मध्यम धानको खेती बढी गर्नेगरेको पाइयो, किसानले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो” लामिछानेले भने, “मध्यम धान धेरै आएपछि केन्द्रीय कार्यालयसँगको समन्वयमा मध्यम धान थप १५ हजार क्विन्टल खरिद गर्नेगरी कुल ५५ हजार क्विन्टलको लक्ष्य राखेका छौँ ।” बाँकेका किसानहरु पछिल्लो समय मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए ।
“२५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको मध्यम धान हालसम्म लगभग खरिद गरिसकेका छौँ, हामीले २५ हजारभन्दा बढी धान खरिद गर्न सक्दैनौँ, हामीले सूचना नै प्रकाशित गरेर यस वर्षका लागि मध्यम धान खरिद गर्न बन्द गरेका छौँ, लक्ष्य पूरा भएको छ” लामिछानेले भने ।
मोटा धानको खरिद लक्ष्यअनुसार पुग्न सकिएन, किसानले बजारका व्यापारीलाई नै मोटा धान बिक्री गरेको उनले बताए । खाद्यभन्दा प्रतिक्विन्टल एक समयदेखि एकसय पचास रुपैयाँसम्म बजारका व्यापारीले बढी मूल्य दिएको हुँदा मोटा धान कम खरिद भएको उनले बताए । गत वर्ष ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको नेपालगञ्ज कार्यालयले जम्मा आठ हजार क्विन्टल धान खरिद गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार