Listen LIVE

केरा बिक्री नहुँदा दाङका किसान मर्कामा

दाङ : राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिकरुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुगेका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् । शुरुवातमा दुई बिघाबाट केराखेती शुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए । 

बजारमा दर्जनलाई रु. १२० भन्दा बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु.२५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । “यो साल केरा बिक्री नहुँदा कारोबार घरेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ”, उनले भने । थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनी बताउँछन् । 

तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनको भनाइ छ । उनले गएका वर्षहरुमा नियमितरुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भएपनि हाल भने तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार रहेको बताए । 

राप्ती केरा प्रवर्धन कृषक समूहका अध्यक्षसमेत रहेका सुवेदीले अघिल्ला वर्षहरुमा रु. सवा करोडसम्मको कारोबार गर्ने र जसबाट रु. ३० लाखसम्म बचत गर्दै आएको भएपनि यसवर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको उहाँ बताउँछन् । राप्ती केरा प्रवर्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध छन् । यसवर्ष केरा बिक्रीमा समस्या हुँदा रु. १० लाखभन्दा कम आम्दानी हुने उनको आकलन छ । 

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लक्षित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताउँछन् । 

उनले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले सुनाए । भारतीय बजारबाट दाङका बजारमा दिनहुँ सस्तो मूल्यमा केरा भित्रिएपछि यहाँ उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ ।

उनी जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताइन् । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले बताइन् । केरा बिक्रीका लागि तयार भएपनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ । उनले भनिन, “व्यापारीले दर्जनको रु. २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ?” 

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उनको भनाइ छ । 

मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ । केराको जात हेरेर रु. २५० देखि रु.५०० एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको छ ।

प्रतिक्रिया