नेपालगञ्ज : पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँकेले तस्करी, लागुऔषध ओसारपसार र बिक्री तथा अवैध आयात निर्यात रोक्न कडाई सुरु गरेको छ । सोही कारणले हाल आएर अवैध सामानसहित लागुऔषध ओसारपसार गर्नेहरु दिनदिनै प्रहरीले पक्राउ गरिरहेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले आफैँ फिल्डमा खटिएर लागुऔषध र तस्करीविरुद्ध अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो क्रममा प्रहरीले पछिल्लो पटक नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित रोयल क्याफेबाट करिब ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीलाई रोयल क्याफेमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका–९ बस्ने ३८ वर्षीय चाँदअलि शेष र ऐ.ऐ. बस्ने ३१ वर्षीय बब्लु शेषलाई नियन्त्रणमा लिएको बताए ।
उनले उनीहरूको साथबाट ४९ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर अर्थात् खैरो धुलो पदार्थ बरामद भएकोले सो बारेमा थप अनुसन्धान भइरहेको बताए ।
पक्राउ परेका दुबैजनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी जिल्ला अदालत बाँकेबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रवक्ता पातलीले बताए ।
उनले प्रहरीले कडाइ सुरु गरेपछि अहिले दैनिक जसो अवैध रुपमा भन्सार राजस्व छलेर ल्याइएका सामानहरु नियन्त्रणमा लिने कार्य भइरहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार