Listen LIVE

जापानबाट फर्केर च्याउ खेतीमा कमला

गुल्मी : गुल्मीमा च्याउ खेती गर्नेमा रेसुङ्गा नगरपालिका–८ की कमला भलामीको नाम अग्रणी स्थानमा आउँछ । करिब तीन वर्ष जापान बसिन् । कमाइ राम्रै थियो तर बचत भइरहेको थिएन । त्यसपछि उनी सन् २०११ मा गाउँ फर्केर अलि अलि बचत भएको रकमले आफ्नै उद्योग सुरु गरिन् । 

घरमा गाईभैँसी, बाख्रा, बङ्गुरका साथै कुरिलो खेती पनि सुरु गरिन् । अहिले गाईभैँसी र बङ्गुर सबै हटाएर च्याउ खेतीमा ध्यान दिएकी छिन् । दुई वर्षदेखि श्रीमान् रमेश भलामी पनि घरमै छन् । दुवै जनाको प्रयासले व्यवसाय फस्टाएको छ । 

उनले चार वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गरिरहेकी छन् । भलामीले २०७६ सालमा रहरले घरकै सटरबाट च्याउ उत्पादन सुरु गरिन् । अहिले मासिक ३० लाख रुपैयाँ बराबरको कारोबार छ । खर्च कटाएर मासिक साढे तीन चार लाख कमाउँछिन् । कमलाले पहिलो वर्ष कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान ल्याएर एउटा टनेलबाट व्यावसायिक च्याउ खेती सुरु गरेकी थिइन् । सटरको रहर हुँदै पहिलो व्यावसायिक टनेलबाट करिब ६० हजार नाफा भएपछि भलामीलाई च्याउ खेतीमा उत्साह थपियो । अहिले कमलाले ७० वटा टनेलमा च्याउ उत्पादन गर्छिन् । अहिले दैनिक सात सय किलो च्याउ उत्पादन गर्दै आएकी छिन् । 

भलामीका अनुसार ७० लाखकै हाराहारीमा टनेल निर्माणमा खर्च भएको छ । उनले एक हजार बल झुन्ड्याउन मिल्ने टनेल बनाएकी छिन् । जग्गाको भाडा पनि वार्षिक करिब अढाई लाख छ । मासिक २५–३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । इलामबाट आएका सात र छिमेकी जिल्लाबाट आएका ११ जनाले नियमित रोजगारी पाएका छन् ।

प्रतिक्रिया