Listen LIVE

पानी परेपछि बाँकेका किसानमा खुशियाली

नेपालगञ्ज : पानी परेपछि बाँकेका किसानमा खुशियाली छाएको छ । लामो समयको खडेरी र गर्मीले आक्रान्त बाँकेवासीले गएरातिदेखि परेको झरीले राहत महशुस गरेका छन् ।

असारको मध्यसम्म पनि पानी नपर्दा खेतीपातीमा समस्या भइरहेको अवस्थामा यो वर्षातले किसानहरूलाई ठूलो राहत मिलेको छ । बाँकेमा गएराति र आज बिहानदेखि परिरहेको झरीले धान रोपाइँमा सहयोग पुगेको डुडुवा गाउँपालिका वडा नं. ६ का किसान जयपाल मौर्यले बताए ।

उनले भने, “हामी त पानी नपरेर चिन्तामा थियौँ । एक त रोपाईं गर्न सकिरहेका थिएनौं अर्को तर्फ रोपेको धान सुक्न थालिसकेको थियो । यो वर्षाले अब खेती राम्रो हुने आशा पलाएको छ ।” 

वर्षातले वातावरण पनि शीतल भएको छ । गर्मीले आजित बनेका बाँकेवासीलाई यो वर्षाले राहत प्रदान गरेको स्थानीयले बताएका छन् । नेपालगञ्जका समाजसेवी विष्णुलाल कुमालले भने, “गर्मीले घरबाहिर निस्कनै गाह्रो थियो । यो पानीले वातावरण चिसो भएको छ, मन पनि फुरुङ्ग भएको छ ।” 

जल तथा मौसम विज्ञान विभागका अनुसार, बाँकेमा अझै केही दिन वर्षा हुने सम्भावना छ । यो वर्षाले खेतीपाती सप्रिनुका साथै खानेपानीको समस्या केही हदसम्म हल हुने अपेक्षा गरिएको छ । यद्यपि, बाढी र डुबानको जोखिमबाट बच्न स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया