नेपालगञ्ज : विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२–०८३ मा एक हजार ४६६ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकोमा गत आवमा सो सङ्ख्या डेढ गुणाभन्दा बढीले वृद्धि भएको कँडेलले जानकारी दिए । त्यसअघिको आर्थिक वर्ष २०८०–०८१ मा ४४४ जना पर्यटक निकुञ्ज पुगेका थिए । पर्यटकको आगमन यसरी बढ्नु निकै सकारात्मक सङ्केत भएको र सरोकारवाला निकायले ध्यान दिएमा यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोज लगायतका क्रियाकलापमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान रहेको मुख्य क्षेत्रमै पुगेर अवलोकन गर्नेको सङ्ख्या एक हजार ४६६ पुगेको हो । ती पर्यटकहरू मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास -होमस्टे) तथा नेपालगन्ज र कोहलपुरका होटलमार्फत सफारीका लागि पुगेका हुन् ।
पर्यटकका लागि होमस्टे तथा होटल व्यवसायीले सफारी गाडीको सङ्ख्या बढाउन सके निकुञ्ज घुम्नेको सङ्ख्या अझै वृद्धि हुने अधिकृत कँडेल बताउँछन् । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटन सम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै कोहलपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख सङ्गीता सुवेदीले निकुञ्जको …ब्रान्डिङÚ गर्नुपर्ने बताइन् । गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले पनि निकुञ्जको थप प्रचारप्रसार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ ।
यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् । वि.सं. २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट १६ किलोमिटरको दुरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेकाले स्थल र हवाई दुवै मार्गबाट यहाँ सहजै पुग्न सकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार