कैलाली : उच्च पहाडी र हिमाली हावापानीमा फल्ने स्याउको तराईमा नै व्यावसायिक खेती गरेर गोकर्ण ओलीले मनग्गे आम्दानी लिन थालेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ का ओलीले व्यावसायिक स्याउ खेती गरेर आम्दानी गर्न थालेका हुन् । उनको बारीमा फलेका स्याउ अहिले पाक्न थालेका छन् । त्यति मात्र होइन बेर्नाको मागसमेत बढ्दै गएको छ ।
ओली भन्छन, “पाँच वर्षसम्म बोट हुर्काउन लाग्यो । त्यसबाट आम्दानी लिन नपाए पनि बेर्ना बेचेर आम्दानी गर्ने गरेको छु । गएको एक वर्षमा स्याउका बेर्ना बेचेरै छ लाख ८० हजार रुपैयाँ आम्दानी भयो । बेर्नाको माग धेरै राम्रो छ, माग अनुसार पुर्याउनै सकेको छैन ।” उनले प्रतिबेर्ना तीन सय रुपैयाँका दरले बेच्ने गरेको बताए ।
फलेका स्याउको भने आम्दानी थोरै छ । फागुनदेखि फुल्न सुरु गरेको स्याउ असारसम्म खानका लागि तयार हुन्छन् । ओलीका बारीमा स्याउ फल्न थालेको तीन वर्ष भयो तर उनी अहिले फलबाट लाभ लिनेभन्दा पनि बोट हुर्काउनमै व्यस्त छन् ।
ओलीले २०७८ सालदेखि तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती सुरु गरेका हुन् । आफूले लगाएको दुई वर्षमा नै स्याउ फल्न थालेको उनले बताए । उनको बारीमा स्याउ फलेपछि अन्य किसानसमेत आकर्षित हुन थालेका छन् । त्यसैले उले अहिले स्याउका बोट हुर्काउँदै बेर्ना तयार गरेर आम्दानी लिन थालेका हुन् ।
४८ डिग्री सेल्सियस तापक्रमको हावापानीमा पनि हुने एचआरएमएन (हर्मन) ९९ जातको स्याउको बोट भारतबाट ल्याएर ओलीले खेती गरेका हुन् । भारतको उत्तर प्रदेश हरियाणा, पन्जाबलगायतका ठाउँमा व्यावसायिक स्याउ खेती हुने गरेको उल्लेख गर्दै ओलीले भने, “मैले हिमाञ्चल प्रदेशको विशालपुर जिल्लाबाट बिरुवा ल्याएर खेती गरेको हुँ ।” आफैँले बेर्ना तयार गर्ने ओलीले रुटका लागि नेपालको जुम्लामा फल्ने स्याउको हाँगा प्रयोग गर्नु पर्छ । रुटको समस्याले गर्दा बेर्ना धेरै उत्पादन गर्न नसकेको उनी बताउँछन् । पालिकाले बेर्ना किनेर किसानलाई अनुदानमा दिने प्रचलनले पनि ओलीकोमा स्याउका बेर्नाको माग बढेको हो । स्याउका बेर्ना लिन किसान ओलीकै बारीमा पुग्ने गर्छन् ।
स्याउका बिरुवाले पाँच वर्ष पुगेपछि पूर्ण उत्पादन दिन सुरु गर्छन् । ओलीले एउटा बोटले ५० किलोदेखि ८० किलोसम्म उत्पादन दिने बताए । तराईमा पानी जम्ने हुँदा वर्षामा अलि समस्या हुने उल्लेख गर्दै ओलीले भविष्यमा कैलालीको चुरे क्षेत्रमा व्यावसायिक खेती बढाउने योजना रहेको सुनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार