बर्दिया : माटो प्राकृतिक उपचारका लागि महत्त्वपूर्ण मानिएको कोसेबाली खेती बर्दिया लगायतका तराईको जिल्लामा घट्दै गएको छ । तीन तहकै सरकारले कोसेबाली खेती प्रणालीमा ध्यान नदिँदा कोशेबाली खेती घट्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
बर्दियाको गुलरिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका अगुवा किसानले सो कुरा बताएका हुन् । स्थानीय तहले कोसेबाली खेतीका लागि कुनै पनि कार्यक्रम नराखेको गुनासो उनीहरूले गरेका छन् ।
कृषकहरूले अरू खाद्यान्न बाली खेतीमा जोड दिने गरेको र कुनै पनि निकायले कोसेबाली खेतीका लागि प्रवर्धन नगरेको मधुवन नगरपालिकाका अगुवा किसान गजेन्द्रराज पोखरेलले बताए । नगरपालिकाले अरु बाली खेतीमा अनुदान दिने, प्रवर्धन गर्दै आए पनि कोसेबालीलाई उपेक्षा गरेको उनको गुनासो छ ।
कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेको आयोजनामा कोसेबाली खेती तथा बिउ उत्पादन उन्नत प्रविधिसम्बन्धी स्थलगत तालिममा सो कुरा उठेको हो । अगुवा किसानले कोसेबाली खेती नगरेको कारणले माटोको उर्वरा शक्ती घट्दैगएको बताएका छन् ।
खेती प्रणालीमा एक वर्षमा एक पटक कोसेबालीको खेती गर्दा माटोको उर्वराशक्ती बढ्ने, रासायनिक मलको प्रयोगमा कमी ल्याउन सकिने र किसानलाई मुनाफा पनि बढी हुने भएकाले कोसेबाली खेतीलाई प्रवर्धन गर्नुपर्ने गुलरिया नगरपालिका–१, खैरापुरका कृषक दीपक पौडेलले बताए ।
उनले किसानहरू कोसेबाली खेती प्रविधिको बारेमा पर्याप्त सचेतना र जानकारीको आवश्यक भएको बताए । मधुवन नगरपालिकाका कृषि विकास शाखाका प्रमुख एकराज वलीले यस वर्ष पहिलो पटक कोसेबाली खेतीको प्रवर्धनका लागि बजेट विनियोजन गरेको बताए । आगामी वर्षमा अन्य खेती प्रणालीका लागि भन्दा पनि कोसेबाली खेतीको प्रवर्धन गर्ने योजना ल्याउने बताए ।
कोसेबाली अनुसन्धान कार्यक्रम खजुराको कार्यक्रम संयोजक डा. अनिल पोखरेलले राज्यले अपहेलित गरे पनि किसानहरू कोसेबाली खेती अपनाउँदै आएको बताए । उनले अरू बालीहरूको तुलनामा आम्दानी राम्रो र माटोको उर्वराशक्ती बढाउने भएकाले किसानले कोसेबाली खेती गर्दैआएको बताए ।
अझै पनि सरकारले र किसानले कोसेबालीलाई मुख्यबालीको रूपमा नलिएको हुनाले यसको खेतीमा कमी आएको डा. पोखरेलले बताए । बर्दियामा उखु, धान र गहुँ खेतीको विस्तारसँगै कोसेबाली ओझेलमा परेको छ । कोसेबाली ओझेलमा परेसँगै माटोको उर्वरा शक्तिमा कमी आउँदा रासायनिक मलको माग बढ्दै गएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार