डोल्पा : डोल्पामा उत्पादन भएको स्याउको बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने स्याउ महोत्सव सम्पन्न भएको छ ।
कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन स्याउजोन कार्यालय र महादेव फलफूल बगैँचा उद्योग जिउँ डोल्पाको आयोजनामा एक दिने स्याउ महोत्सव सम्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ गाउँमा आयोजना गरिएको जिल्लास्तरीय महोत्सवमा जिउ गाउँका कृषकहरूले आ–आफ्ना स्याउ फारममा फलाएका स्याउ लगायतका कृषिजन्य बस्तुहरूको प्रदर्शनी गरिएको थियो ।
उत्पादन भएको स्याउको बजारीकरणको व्यवस्था र कृषकको मेहनत र लगानीमा उत्पादन गरिएको स्याउ खेर नजाओस् भन्नका लागि यसको ब्रान्डिङ गर्न आवश्यक रहेकोले परिपक्व समयको प्रतीक्षा गर्न कृषकलाई प्रमुख अतिथि श्याम बहादुर रोकायाले आग्रह गरे । काँचो स्याउ टिपेर बजारमा लिँदा मूल्य पनि नपाइने गुणस्तर समेत खस्कँदै गई बजारीकरणमा समस्या आउने भएकाले प्राविधिकको सल्लाहमा पूर्णरुपमा पाकिसकेपछि मात्र बजारमा लैजाँदा उपभोक्ताको माग बढ्नुका साथै स्याउ कृषकको आर्थिकोपार्जनमा टेवा पुग्ने देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले स्याउ बगैँचामै महोत्सव आयोजना गरि स्याउ फारमको अवलोकन गर्न पाउँदा रमाइलो अनुभूति भएको बताए । जिल्लाको स्याउलाई बजारीकरण गर्न र प्रचारप्रसारका लागि सबै कृषकहरूको सहभागिता जनाउने गरि जिल्लास्तरमा विशेष महोत्सवको आयोजना गर्न कृषि विकास कार्यालयलाई सुझाव दिँदै स्याउ खेती सम्बन्धि चौबिस हप्ताको कृषक पाठशालाको सञ्चालन गर्नु महत्त्वपूर्ण भएको बताए ।
नेकपा एमाले पूर्व सासँंद बदमीक्वारी बोहोराले राम्रोसँग नपाकेसम्म बजारमा नलैजान अनुरोध गर्दै छिमेकी मुलुक चिनले कृषकलाई आयत निर्यातमा समेत राहत दिएको कारण त्यहाँका कृषक जीवनस्तर उच्च रहेकाले स्थानीय सरकारले पनि कृषकको उत्पादनमा कर लगाउन नहुनेमा जोड दिए । लगनशील र कर्मशील भएर कृषिमा समर्पित भएमा आत्मनिर्भर भई कसैसँग भिख माग्नु नपर्ने भएकाले त्रिपुरासुन्दरी नगरपालिकाको जिउ र रङ्गमा धेरै जमिन बाँझो रहेकाले खनजोत गरि स्याउ दाँतेओखर लगाउन कृषकलाई पूर्व सांसद बोहोराले सुझाव दिए ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले स्याउ व्यावसायिक बन्न र खेती गर्न माटो परिक्षण गर्नु आवश्यक रहेको स्याउ बगैँचा अनुगमन गर्दा स्याउका बिरुवाले दिएको उत्पादनले प्रष्ट पारेको बताए । स्याउ खेती गर्दा हावापानी माटो भूगोलको पूर्व अध्ययन गरिनुका साथै विषादी प्रयोगमा ख्याल गर्नु पर्नेमा प्रमुख अधिकारीको जोड रहेको थियो । स्याउको बाहिरी बजारीकरणको लागि प्रचारप्रसार गर्न र जिल्लास्थित सरोकारवालाको स्याउ खेतीको अवस्था प्रति ध्यानाकर्षण होस भनेर महोत्सवको आयोजना गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन स्याउजोन कार्यक्रममा प्रमुख गोविन्द बहादुर मल्लले स्वदेशी लगानीमा ०७६÷०७७ देखि स्याउ जोनले विशिष्टीकरण क्षेत्र पहिचान गरेर कृषि विकास कार्यालय र स्याउ जोन कार्यक्रमले समन्वय गरेर विभिन्न स्थानीय तहमा स्याउ दाँतेओखर सिमि र आलुको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन भइरहेको बताए । एकले अर्को कृषकको फर्म (फारम) अवलोकन गरेर सिकाई गर्दा ज्ञान सीप प्राप्तिमा सहज हुने भएकाले पाठशाला समेत सञ्चालन भई सम्पन्न भएको प्रमुख मल्लले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार