दाङ : वर्षेनि मह बेचेर राम्रो कमाइ गर्ने सरुमारानी गाउँपालिका–४ मान्द्रेका हुमबहादुर थापाको घरमा अघिल्लो वर्षकै २५ क्वीन्टल मह थन्किएको छ । तर बेच्न सकेका छैनन् ।
उनले गत वर्षको उत्पादन नै घरमा स्टक रहेकाले यो वर्ष उत्पादित महले पनि बजार नपाउने चिन्ता थपिएको बताए । “गत बर्षको अहिलेसम्म मह बिक्री भएको छैन,“ थापाले भने, “के गर्नु उत्पादन भएको मह नै बिक्दैन । घरमा राख्नुपरेको छ ।“
पछिल्लो दुई वर्षदेखि उत्पादित महको बिक्रीमा समस्या देखिएको उनको भनाइ छ । मलेसियाबाट फर्किएर २०७० सालदेखि गाउँमै व्यावसायिक रुपमा मौरीपालन गरेका थापाको हाल एक सय आधुनिक घार मौरी छ । यी घारबाट वर्षमा करीब ५० देखि ५५ क्वीन्टलसम्म मह उत्पादन हुन्छ । मौरिपालक किसान महासंघ प्युठानका अध्यक्ष रहेका थापाले भने, “मह उत्पादन राम्रो छ, तर, बिक्रीका लागि बजार छैन ।“ भारतबाट सस्तो मुल्यमा आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको उने गुनासो गरे ।
थापा जस्तै सरुमारानी–४ बड्डाडाका टीकाराम पल्लीले २३ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गरिरहेका छन् । अहिलेसम्म उनले मह बिकेन भन्नुपरेको थिएन । तर, गत वर्षदेखि उनलाई मह बेच्न सकस परिरहेको छ । २०५८ सालदेखि मौरी पाल्दै आएका उनले भने, “पहिलो पटक यस्तो समस्या आएको छ । मेरो घरमा झण्डै १० क्वीण्टल मह जम्मा भएर बसेको छ । बिक्री हुँदैन ।“
बजारमा महको माग घटेपछि आफूले १ सय गोलाबाट घटाएर ६५ गोलामा मौरी झारेको पल्लिले सुनाए ।
स्थानीय ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीले सदस्य किसानबाट खरिद गरेको कच्चा महलाई मेसिनमार्फत प्रशोधन गर्ने गरेको छ । प्रशोधित महलाई प्याकेजिङ, लेबलिङ गरी बिक्रीका लागि बजार पठाउने गरेको सहकारीका ब्यबस्थापक रेवत प्रसाद खनालले जानकारी दिए ।
यो वर्ष १५ टन मह गोदाममा थन्काएर राख्नुपरेको ब्यबस्थापक खनालले बताए । उत्पादन राम्रो भए पनि मह बिक्री नहुँदा जिल्लाका किसान निराश छन् । ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका स्थानीय तह मौरीपालनका लागि उपयुक्त रहेका छन् । त्यसबाहेकका अरू ठाउँमा पनि मौरीपालन गर्ने गरिएको छ ।
महको प्रकारअनुसार यसको मूल्य पनि फरक पर्छ । बजारमा तोरीको महलाई प्रतिकिलो ४ सय, रुदिलोको महलाई ६ सय र चिउरीको महलाई सात सय रुपैयाँ प्रतिकिलो पर्छ ।
जिल्लाभर ११ हजार ७९६ मौरीका घार रहेका छन् । किसानले सेरेना र मेलिफेरा जातका मौरीपालन गर्दै आएका छन् । नेपाल मौरीपालक महासंघका अध्यक्ष थापाका अनुसार जिल्लामा हाल ३५ हजार किलो मह बिक्री नभएर थन्किएको तथ्याङ्क छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार