Listen LIVE

डुडुवामा फुटबल प्रतियोगिता सुरु

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता सुरु भएको छ ।

उदघाटन खेलमा आयोजक नवदुर्गा युवा क्लब (ए) ले शक्ति युवा स्पोट्र्स क्लबलाई ८–१ गोलले हरायो । आयोजकको तर्फबाट खेल सुरु भएको १० सेकेन्डमै गोल गर्न सफल दीपकराज सिंह ठकुरीले लगातार तीन गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए ।

खेलमा आयोजकको तर्फबाट भूपेन्द्र शाहीले तीन गोल, विपिन थापामगर र क्षितिज थापामगरले एक एक गोल गरे । क्लबका अध्यक्ष निर्मल चन्दले हरेक वर्ष यसखाले प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछ । उपबिजाते टिमले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि म्याच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको डुडवा गाउँपालिका वडा नम्बर–५ स्थित नवदुर्गा युवा क्लब कम्दीले यस वर्षपनि प्रतियोगितालाई निरन्तरता दिएको हो । प्रतियोगितालाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उदघाटन गरेका थिए ।

अध्यक्ष चौधरीले प्रतियोगिता उत्साह ल्याएको भन्दै युवाहरूलाई खेल क्षेत्रमा लाग्न उत्प्रेरित गरे । लामो समयदेखि यहाँका युवाहरूले गर्दै आएको कार्य अरूभन्दा उत्कृष्ट रहेको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया