Listen LIVE

बाँकेमा मल वितरण शुरु

नेपालगञ्ज : मलको चरम अभाव भएका बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा आएर थन्किएको मल वितरण गर्न थालिएको छ । 

तीन चार दिनपहिलेदेखि नै मल आउने क्रम जारी रहे पनि प्रदेश कृषि मन्त्रालयले कोटा निर्धारणको पत्र सोमबार अपराह्न मात्र पठाएपछि मल वितरण गर्न थालिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख वासुदेव उपाध्यायले बताए । 

उनले मङ्गलबार बिहानै सबै पालिकालाई कोटा अनुसारको मल लिन तोकिएका डिलरलाई पठाउन पत्राचार गरिएकोमा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाले मात्र सोही दिन डिलरको कोटा निर्धारण गरेर पत्र पठाएको बताए । 

त्यसमध्ये बैजनाथ गाउँपालिकाबाट दुई वटा डिलरले २३१ बोरा मल मङ्गलबार नै लगेर गएको तथा अरू डिलर बुधबार आउने र कोहलपुरबाट पनि बुधबार मात्र डिलरहरू मल लिन आउने जानकारी आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख उपाध्यायले बताए । 

जिल्लाका अन्य छ वटा पालिकाले डिलरलाई कोटा तोकिएको पत्र नपठाएकाले बुधबार पठाउने आशा गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । 

सो कार्यालयका अनुसार प्रदेश कृषि मन्त्रालयले निर्धारण गरेर पठाएको पत्रमा बाँके जिल्लाका लागि आएको छ हजार ९७१ बोरामध्ये नेपालगञ्ज उपमहानगरपालिकालाई एक हजार ५५, राप्तीसोनारी गाउँपालिकालाई एक हजार १०८, खजुरा गाउँपालिकालाई एक हजार ४६, बैजनाथ गाउँपालिकालाई ९१८, डुडुवा गाउँपालिकालाई ८१५, कोहलपुर नगरपालिकालाई ७३१ र जानकी गाउँपालिकालाई ७२० बोरा मल वितरण गर्ने कोटा निर्धारण गरिएको छ । 

सोहीबमोजिमका पत्र जिल्लाका आठ वटै पालिकामा पठाइएको र पालिकाबाट मल लिन आउने डिलरको प्रतीक्षा गरिरहेको साल्ट ट्रेडिङ नेपालगञ्जका प्रमुख उपाध्यायले बताए । उनले पालिकाले बाँकेमा १२० वटा सहकारी डिलरमार्फत मल वितरण गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया