Listen LIVE

भेरी–बबई डाइभर्सनः सुरुङका अन्य संरचनामा ढिलाइ

नेपालगञ्ज : भेरी नदीको पानीलाई बबईमा झारेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ गर्ने र ४६.८ मेगावाट जलविद्युत उत्पादन गर्ने गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम द्रुत गतिमा हुन सकेको छैन । सुरुङको काम गर्दा देखिएको उत्साह अन्य काम गर्दा कम हुँदै गएको पाइएको छ ।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम)को प्रयोग गरेर बनाइएको सुरुङ सम्झौता अवधिभन्दा करिब एक वर्ष पहिला नै सम्पन्न हुँदा कर्णाली र लुम्बिनीका बासिन्दामा खुसीको सीमा नै थिएन । सुरुङ बनाएर चाइनिज कम्पनी गएपछि अरु काम गर्ने ठेक्का पाएको नेपाली कम्पनीले युद्धस्तरमा काम गर्न नसक्दा जनतामा निराशा छाएको छ ।

३३ अर्ब १९ करोड ६६ लाखको यो आयोजनाको नौ वर्षमा ६५.९ प्रतिशत प्रगती भएको छ । सुरुमा चार वर्षको सम्झौता भएको आयोजना लम्बिँदै गएको छ । दुई पटक म्याद थपिएको छ । पछिल्लो पटक थपिएको अवधि अनुसार २०८२ असोज १ गते काम सम्पन्न गर्ने भनिएको छ । अहिले त्यहाँ भइरहेको कामको गतिलाई हेर्दा पछिल्लो पटक थपिएको अवधिमा पनि काम सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवम् सूचना अधिकारी पवन अधिकारीका अनुसार, अहिले चिप्लेमा हेडवक्स, हात्तीखालमा सर्जसाफ्ट र पावर हाउसको जग खन्ने काम भइरहेको छ ।

१२.२ किलोमिटरको सुरुङको काम सम्पन्न भइसकेको छ । २०७४ कात्तिक २० गतेदेखि गरेको सुरुङ खन्ने काम २०७६ वैशाख ३ गतेसम्म सम्पन्न भएको थियो । जबकि २०७६ चैत्र १५ गतेसम्म काम सक्ने सम्झौता थियो ।

सुरुङ खन्दाजस्तो गति अहिले काम भइरहेको तिनै ठाउँमा देखिएको छैन । काम भइरहेको भनिएपनि त्यहाँ आवश्यक उपकरण र जनशक्तिको प्रयोग गरिएको छैन । यहीँ हिसावले काम भइरहने हो भने आयोजना अनन्तकालसम्म लम्बिने देखिन्छ ।

सुरुमा आयोजनाले सिँचाइ र जलविद्युत उत्पादनमा काम गर्ने भनिएपनि पछि खानेपानीलाई जोडिएको छ । भेरी नदीबाट ४० घनमिटर पानी बबई झार्ने र त्यसमध्येको १५ घनमिटर पानी प्रयोग गरिने बताइएको छ । भेरीमा सुख्खा समयमा ७६ घनमिटर र अरु बेला एक हजार पाँच सय घनमिटरसम्म पानी हुने गर्दछ । भेरीबाट झारिएको पानीले बबई र मानखोलाबाट समेत विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । बबई र मानखोलामा उपलब्ध झण्डै सय मिटर हेड उपयोग गरी १२ देखि १४ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको छ । त्यसमा करिब १ घनमिटर पानी कोहलपुर र नेपालगञ्ज क्षेत्रमा खानेपानीको रुपमा प्रयोग हुनेछ । यसो भएमा मानसरोबरबाट आउने पानी बाँकेवासीले खान पाउने छन् ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सन्जिव बरालले दुई वर्षमा सम्पन्न गर्ने गरी आयोजनाको काम भइरहेको बताए । उनले अहिले काम गरिरहेको ठेकेदार कम्पनी कमजोर परेको स्वीकार गर्दै दोस्रो पटक म्याद थपेसँगै अन्तिम चेतावनी पनि दिइएको बताए ।

आर्थिक वर्ष २०७२÷७३ बाट सुरु भएको आयोजनामा टनेल निर्माण कार्य सतप्रतिशत, सिभिल निर्माण कार्यमा ५५ प्रतिशत, हाइड्रोमेकानिकल ३९ प्रतिशत, इलेक्ट्रोमेकानिकल ३० प्रतिशत र प्रशारण लाइनको ५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका प्रमुख रणबहादुर बलमे जानकारी दिए ।

सरकारी निकाय र ठेकेदारका बीचमा हुनुपर्ने समन्वय नभएको पाइएको छ । सरकारी अधिकारीले सबै साइड क्लियर र आफ्नो तर्फबाट गर्नुपर्ने सबै ठीकठाक छ भनिरहदा ठेकेदार रमन महतोले काम गर्दा आइपर्ने समस्या समयमा समाधान नगरिदिने गरेको बताए । उनले परामर्शदाता कम राखेको, छिटो–छिटो परिवर्तन हुने गरेको, सबै साइड नै क्लियर नगरिदिएको दुखेसो पोखे ।

यसैबीच, संसदको पूर्वाधार विकास समितिले आयोजनाको स्थलगत निरीक्षण गरेको छ । समितिका अनुगमन संयोजक ठाकुर गैरे, प्रतिमा गौतम, विना लामा र लालबीर चौधरीले आयोजनाको स्थलगत निरक्षण अनुगमन गर्दै विभिन्न व्यक्तित्वसँग छलफल गरे ।

अनुगमन संयोजक गैरेले सुरुङ ‘ब्रेक थ्रु’ हुँदाको उत्साहतजसरी कामलाई अगाडि बढाउन निर्देशन दिए । उनले नीतिगतदेखि अहिले काम गर्दा देखापरेका समस्या र चुनौतीलाई सहजीकरण गर्ने बताए । (देशसञ्चारबाट)

प्रतिक्रिया