नेपालगञ्ज : आफ्नै देशमा उत्पादन भएको कर्णालीको स्याउ अहिले आम उपभोक्ताको पहिलो रोजाइ बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुरदेखि सुर्खेत, दाङ र बुटवलका बजारसम्म अहिले जताततै कर्णालीको स्याउले बजार ओगटेको छ ।
चार दशकदेखि नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका व्यापारी प्रेमलाल साहु तेलीका अनुसार अहिले कर्णालीको स्याउले बजारमा दबदबा जमाएको छ । उनका अनुसार सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा जुम्लाको स्याउ खोज्दै ग्राहक आउने क्रम बढ्दै गएको छ ।
नेपालगञ्जमा ग्रेडिङ गरिएको कर्णालीको स्याउ प्रतिकिलो अधिकतम १६० रुपैयाँ किलोमा थोकमा बिक्री हुने गरेको छ भने ग्रेडिङ नभएको न्यूनतम १०० रुपैयाँमा पाइन्छ । आकार र गुणस्तरअनुसार १०० देखि १६० रुपैयाँमै व्यापारीले खरिद गरी पश्चिमका विभिन्न शहरमा बिक्री गर्ने गरेका छन् ।
विगतमा भारतीय र चिनियाँ स्याउले भरिने बजार अहिले कर्णालीको अर्गानिक स्याउले ओगटेको छ । सडक विस्तार र सहज ढुवानीका कारण जुम्लाको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउले नेपाली बजारमा कब्जा जमाएको छ । व्यापारी साहुका अनुसार साउनदेखि असोजसम्म पश्चिम नेपालका शहरहरुमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गर्ने गरेको छ ।
उता, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले कर्णालीको स्याउको बजार विस्तार हुनुले किसान मात्र नभई स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाएको बताए । उनले गुणस्तर र ढुवानीमा अझ ध्यान दिन सके उत्पादन र बिक्री दुवै गुणात्मकरूपमा बढ्ने बताए ।
नेपालगञ्जका धम्बोझी, कारकाँदोलगायतका चोकमा अहिले कर्णालीका महिलाहरू पंक्तिबद्ध भएर स्याउ बिक्री गरिरहेकी छन् । अस्थायीरूपमा बस्ने महिला वा विद्यार्थीले पनि चाडपर्वको सिजनमा स्याउ बिक्री गरी राम्रो आम्दानी गर्ने गरेको पाईएको छ ।
जुम्लाकी शीतली रोकायले नेपालगञ्जमा दैनिक २५–३० किलोसम्म स्याउ बेचेर दशैँ–तिहार मनाउने खर्च जुटाएको बताइन् । उनका अनुसार कर्णालीको स्याउ चाडपर्वमा कोसेलीको रूपमा घरघर पुग्ने गरेको छ ।
आयातित स्याउभन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले उपभोक्ताले तीज, दशैँ, तिहारमा उपहारस्वरूप दिन लैजाने गरेका छन् ।
गत वर्ष नेपालगञ्जबाट करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएकोमा यो वर्ष पाँच हजार क्विन्टलसम्म पुग्ने अनुमान गरिएको छ ।
थोक व्यापारी साहुका अनुसार उत्पादन बढाउने र चिस्यान केन्द्र निर्माण गर्ने हो भने नेपाली स्याउले कम्तीमा ६ महिना देशकै माग धान्ने सम्भावना छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार