Listen LIVE

११ महिनामा एक लाख ८५ हजार डोज वीर्य उत्पादन

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ११ महिनाको अवधिमा एक लाख ८५ हजार डोज वीर्य उत्पादन गरेको छ । कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठ महिनासम्म ११ महिनाको अवधिमा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा.खिमानन्द खनालका अनुसार जर्सी साँढेबाट २८ हजार ३०९ डोज र होलिस्टिन बाट ४४ हजार ९५६ गरी ३ हजार २६५ डोज साँढको वीर्य, नेपालगञ्ज मुर्राबाट ८१ हजार १६० डोज, भारतीय मुर्राबाट २० हजार ५३४ डोज र गड्डीबाट ४ हजार ५३७ गरी एक लाख ६ हजार २३२ डोज राँगाको र ५ हजार ५८० डोज वोयर बोकाबाट गरी जम्मा १ लाख ८५ हजार ७६ डोज जमेको वीर्य उत्पादन भएको छ ।

कार्यालय प्रमुख खनालले २०३६ सालमा भैँसी फाराम -बुल सेन्टर)का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको बताए । उनले २०६० सालमा चरन तथा घाँसेबाली बिउ वृद्धि फार्ममा रुपान्तरण भएको, २०४२ सालमा पशु प्रजनन कार्यालयको नाममा स्थापना भएको र देशमा संघीयता कार्यान्वयनसँगै २०७५ सालमा राष्ट्रिय पशु प्रजनन कार्यालयको नामबाट सेवा प्रदान गरिरहेको जानकारी दिए ।

उनले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह भइरहेको बताए । कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको बताए । साथै प्राकृतिक गर्भाधानको सेवासमेत कार्यालयले प्रदान गर्दै आएको उनले जानकारी दिए ।

कार्यालयका पशु विकास अधिकृत डा.मिलनकुमार चौधरीले कार्यालयले चालु आवको जेठ महिनासम्म साँढे, राँगो र बोकाबाट उत्पादन गरिएका ६३ हजार २९७ डोज वीर्य वितरण गरिएको जानकारी दिए । उनका अनुसार जर्सीको २५ हजार ३६६ डोज, होलिस्टिनको ९ हजार ५१७ डोज र साइवलको ९१३ डोज गरी साँढेको जम्मा ३७ हजार ९३६ डोज वीर्य वितरण गरिएको छ भने नेपालगन्ज मुर्राको २९५ डोज र भारतीय मुर्राको २३ हजार ८५२ डोज गरी २४ हजार १४७ डोज राँगाको वीर्य वितरण भएको छ ।

वोयर बोकाबाट एक हजार २१४ डोज वीर्य वितरण गरिएको चौधरीले जानकारी दिए । साथै उनका अनुसार विभिन्न जातका घाँसको ३० हजार ६३० केजी बिउ उत्पादन भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले कार्यालयले तरल नाइट्रोजन बिक्री, वीर्य बिक्री, घाँसको बिउ बिक्री, घाँस बिक्री तथा अन्य प्रशासनिक शुल्क र विविध सेवा प्रवाह गरेवापत ७३ लाख ७७ हजार ७३० रूपैयाँ राजस्वसमेत सङ्कलन गरेको जानकारी दिए ।

उनले यस समय अवधिमा ४९ हजार ५८७ वटा पशु चौपायालाई कृत्रिम गर्भाधान गराइएको बताए । उनका अनुसार २८ हजार ५८८ वटा गाई, २० हजार ५२६ भैँसी, र ४७३ बाख्रालाई कृृत्रिम गर्भाधान गराइएको हो । कृत्रिम गर्भाधानका लागि वीर्य -सिमेन) उत्पादन गर्न कार्यालयमा १२ वटा मुर्रा राँगा, ८ वटा साँढे र ६ वटा बोका र २ वटा बाख्रा राखिएको उनले जानकारी दिए । उनका अनुसार कार्यालयले कृत्रिम गर्भाधान मात्र नभएर प्राकृतिक गर्भाधान समेत गराउँदै आएको छ ।

प्राकृतिक गर्भाधानका लागि ३ वटा राँगो, २ वटा साँढे र एउटा बोका, एउटा बाख्रा राखिएको छ । यस वर्षको ११ महिनाको अवधिमा १५५ वटा गाई, ३८४ भैँसी र ११ बाख्रा गरी ६५० वटा पशु चौपायालाई प्राकृतिक गर्भाधान गराइएको छ । कार्यालयबाट तरल नाइट्रोजन प्रतिलिटर ५० रूपैयाँ, जमेको वीर्य स्वदेशी–विदेशी प्रतिस्ट्र ५० रूपैयाँ, प्राकृतिक गर्भाधान गाई प्रतिसङ्ख्या २०० रूपैयाँ, भैँसी २०० रूपैयाँ र बाख्राको ५० रुपियाँ शुल्क तोकिएको जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गणेश पुनले कार्यालयले नश्ल सुधार र कृत्रिम गर्भाधान मात्र नगराएर उनीहरूको आहाराका लागि आवश्यक घाँसको समेत उत्पादन गर्दै र अन्य ठाउँमा पनि बिउ, बिरुवा तथा वीर्य वितरण गरेर पश्चिमका जनतालाई सेवा प्रदान गरेर महत्वपूर्ण कार्य गरेको बताए । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक …तुफानÚले नेपालमै तीन वटा मात्र रहेका पशु प्रजनन कार्यालयमध्ये एउटा आफ्नै पालिकाभित्र हुनु समग्र गाउँपालिकाकै लागि गर्वको विषय भएको बताए ।

कार्यक्रममा खजुरा २ का वडाध्यक्ष धनराम वलीले कार्यालयले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढे किसानहरूलाई थप सेवा सुविधा प्रदान गर्न सहज हुने बताए । कार्यक्रममा उत्कृष्ट कार्य गरेवापत कर्मचारीहरु रमेशबहादुर खत्री, वेनबहादुर खत्री र मालती अहिरलाई सम्मान गरिएको थियो । त्यसैगरी कृत्रिम गर्भाधान अभिलेख र उत्कृष्ट रिपोर्टिङ गरेवापत शुक्लाफाँटा नगरपालिका पशु सेवा शाखा कञ्चनपुरलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया