Listen LIVE

गबारो किराका कारण बर्दियाका किसान चिन्तित्

बर्दिया : बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गबारो किराबाट प्रभावित भएको छ । गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तित देखिएका छन् । 

राजापुर नगरपालिकाका व्यावसायिक किसान तथा गणेशबाबा एग्रोसिड कम्पनीका प्रबन्धक पहारी थारूले गबारो किराका कारण यस वर्ष धान उत्पादनमा कम्तीमा १० प्रतिशत ह्रास आउने दाबी गरे । उनले हरेक वर्ष गबारोको प्रकोप बढ्दै गएको बताउँदै समयमा किसान र कृषि प्राविधिकले ध्यान नदिँदा धान उत्पादनमा ह्रास आउन थालेको बताए । 

गबारो किरा लाग्ने समय पहिचान गरेर गबारो किरा लागेको पाइएमा विषादी छर्कनुपर्ने बताउँदै उनले अब उत्पादन हुने समय भएकाले केही गर्न नसकिने बताए । 

गेरुवा गाउँपालिका–१, जनकनगरका किसान फत्तेसिंह वैद्यले गबारो किरा गत वर्षको भन्दा बढी लागेको बताए । थाहा पाउने र प्राविधिक सल्लाह लिने किसानले विषादी र मोहनी पासोको प्रयोग गरेर किराको प्रभाव घटाएको बताउँदै थाहा नपाउने किसानको धेरै नोक्सान भएको बताए । गेरुवा गाउँपालिका–४, गिदरपुरका किसान सीताराम चौधरीले पनि गत वर्षको तुलनामा यस वर्ष चैते धानमा गबारो किरा बढी लागेको बताए । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख वीरेन्द्र पराजुलीले हरेक तीन/चार वर्षमा कुनै न कुनै किराको प्रकोप आउने गरेको बताउँदै नियन्त्रणका उपाय अपनाएका कारण महामारीको रूप नआएको बताए । सामान्यतया बर्खे धानभन्दा चैते धानमा रोग किरा लाग्ने भएकाले विषादी बाँड्ने तथा किरा नियन्त्रणका उपाय सिकाउने गरिएको बताए । उनले अझै सामान्य स्थिति भएको हुनाले उत्पादनमा खासै ह्रास नआउने दाबी गरे । 

यस वर्ष बर्दियामा ७५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ । जसमा चार हजार ४२५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सात सय हेक्टरमा चैते धान रोपिएको थियो । सरकारले धान उत्पादनमा आत्मनिर्भर गराउनका लागि र चैते धान प्रवर्धन गर्नका लागि आव २०७३/७४ मा धान जोन कार्यक्रम साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गरेको थियो । आव २०७५/७६ मा धान सुपर जोन कार्यक्रम लागु गरिएको थियो ।

प्रतिक्रिया