Listen LIVE

केरा खेतीतर्फ आकर्षित स्याङ्जाका किसान

स्याङ्जा : स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् । सिङ्गो गाउँनै केरा खेतीमा लागेपछि जिल्लामा नै धेरै केरा उतपादन र बजारीकरण गर्ने गाउँको रुपमा बास्टारीले पहिचान बनाएको छ । 

उत्पादनमा लागत कम हुने र बजारीकरण गर्न सजिलो हुने भएपछि आफूहरु केरा खेतीतर्फ आकर्षित भएको स्थानीय कृषक रामु न्यौपानेले बताए । उनले भने, “अरु बाली लगाउँदा मिहिनेत धेरै र आम्दानी थोरै हुने गर्दथ्यो अहिले भने मेहनत गरे अनुसारको आम्दानी भएको छ, हामी निक्कै खुसी छौं ।”

वि.सं २०३७ सालमा प्रेम नारायण गौडेलले सुरु गर्नुभएको केराखती अहिले गाउँ भरी नै विस्तार भएको छ । आफूहरुले उत्पादन बढाउने भन्दै गाउँसम्म पुग्ने सडकलाई राम्रो गराइदिन कृषक न्यौपानेको अनुरोध छ । सडक र सहज सिञ्चाईको व्यवस्थापन गराइदिने हो भने उत्पादन तेब्बर बनाउन सकिने न्यौपानेको भनाइ छ । वर्षायाममा सडकका कारण बजारीकरण गर्न समस्या भएको कृषकको गुनासो छ । अन्य समयमा भने व्यापारीहरु खेतबारीमा नै आउने कृषकहरुको भनाइ छ । 

झापाली मालभोक नामक केरा लगाएको कृषकहरुले जनाएका छन् । यसको फल राम्रो लाग्ने, बिरुवा लगाएको १६ महिनादेखि नै उत्पादन दिने कृषकले बताएका छन् । स्थानीय मौसममा फल्ने भएका कारण किसानहरू यही जातको केरा लगाउन थालेका हुन् । तयारी केरा किसानले ७० रुपैयाँ दर्जनमा गाउँबाट नै बिक्री गर्दै आएका छन् । 

बास्टारी गाउँमा मात्रै अहिले तिन सय रोपनी जग्गामा केरा खेती गरेका छन् । किसानले केरा बिक्रीबाट वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका वडा अध्यक्ष रुक बहादुर थापाले बताए । 

केरा खेतीको प्रवर्धन र कृषकको आकर्षण बढाउन अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए । उनले भने, “कृषकलाई निशुल्क गुणस्तरीय बिरुवाका साथै आवश्यक अन्य सहयोग उपलव्ध गराएका छौं ।” पालिकाले बजारीकरणमा समेत सहकार्य गर्दै आएको उनको भनाइ छ । 

गाउँपालिकाका अन्य ठाउँमा समेत केरा खेतीको काम सुरु भएको पालिकाका कृषि प्राविधिक अनुप पौडेलले बताए । उनले भने, “नगदे बालीको रुपमा केरा खेतीलाई व्यावसियक बनाउँदै लगिएको छ ।”

केराले फल दिए पछि यसको बोट तथा खामको रेसाबाट विभिन्न सामाग्रीहरु बनाउन सुरु गरिएको प्रमुख प्रशाससकीय अधिकृत पर्शुराम उपाध्यायले बताए । कृषकलाई उद्यमशीलतामा जोड्न केराको थामबाट रेसा बनाउने र विभिन्न उपभोग्य सामाग्री बनाउने काम सुरु गरिएको उपाध्यायको भनाइ छ । केरा खेतीको प्रवर्धनसँगै सीपमूलक तालिम पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया