Listen LIVE

बाँकेको जानकीमा सफल ड्रागन खेती

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा पनि ड्रागन फ्रुटको खेती गरिएको छ । पछिल्लो समय युवा पुस्ताले कृषिलाई त्यति महत्व नदिए पनि केही युवाहरुले भने कृषिमै भविष्य खोज्न थालेका छन् । 

जानकी गाउँपालिका वडा नम्वर ४ का कमल बहादुर रानाले ३ वर्ष पहिला जानकी नहर चोक नजिकै आफ्नै १० कठ्ठा जमिनमा स्मृति ड्रागन फ्रुटको फर्म सन्चालनमा ल्याई खेती गर्दे आएका छन् । झण्डै २२ लाख जति लगानी लागेको जनाउँदै रानाले आफूले समूहबाट ऋण लिएर एक्लै खेती सुरु गरेको बताए । धेरैले कृषि खेती गरेको देख्दा आफूले पनि ड्रागन फ्रुटको खेती सफल होला भनेर सुरु गरेको रानाको भनाई छ । 

सरकारबाट केही सहयोग हुन्छ कि भन्ने आफूले आशा र विश्वास लिएको तर अहिलेसम्म तीनै तहको सरकारबाट आफूलाई कुनै सहयोग नभएको उनको गुनासो छ । ड्रागन फ्रुटको खेती एकदमै राम्रो र बाह्रमासै हुने भएकाले युवाहरुलाई विदेश पनि जानु नपर्ने रानाले आफ्नो अनुभव सुनाए । 

खजुरामा आमालाई औषधि उपचार गराउन आएको समयमा जानकीमा ड्रागन फ्रुट बजारमा भन्दा सस्तो र ताजा पनि पाइन्छ भन्ने सुनेर आफू आएको कोहलपुरका अतुल बनवा बताउँछन् । ड्रागन फ्रुट ताजा पनि खान पाउँदा स्वास्थ्यका लागि राम्रो भएको समेत  उनको भनाई छ ।

प्रतिक्रिया