दाङ : शान्तिनगर गाउँपालिका–६, गिधनियाकी अनिमा चौधरी, प्रमिला चौधरी र ममता चौधरी आफ्नो अध्ययनसँगै थारू भाषा, साहित्य, वेशभूषा तथा कला–संस्कृतिको संरक्षणमा सक्रिय अभियान सञ्चालन गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती बबई क्याम्पसमा अध्ययनरत यी तीन थारू युवतीले आफ्नै पहिचान जोगाउने लक्ष्यसहित युवापुस्तालाई प्रेरित गरिरहेका छन् ।
क्याम्पसमा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा उनीहरू परम्परागत थारू वेशभूषामा सजिएर सहभागी हुने गर्छिन् ।
'हामी आफ्नै वेशभूषामा सजिएर कार्यक्रममा पुग्दा हाम्रो संस्कार र संस्कृति झल्किन्छ,' अनिमाले भनिन् । उनका अनुसार समुदायका मौलिक गीतहरू माँगर, सजना, मैना, छोक्रा, हुर्डुङ्ग्या, मघौटा र सख्या प्रस्तुत गर्ने गरिएको छ ।
'अहिले केही युवा आफ्नो मातृभाषामा बोल्न पनि लजाउँछन्, तर हामीलाई भने आफ्नै भाषा र संस्कृति देखाउन पाउँदा गर्व लाग्छ,' उनले भनिन् । बदलिँदो सामाजिक परिवेशमा मौलिक पहिचान जोगाउने चुनौती भए पनि सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ ।
यस्तै, अनिमाकी साथी प्रमिला चौधरी पनि सोही अभियानमा सक्रियरूपमा जुटिरहेकी छन् । परम्परागत गहना र पोशाकले समुदायको पहिचानलाई थप आकर्षक बनाउने उनले बताइन् ।
'घाँटीभर सुट्या माला, चोल्या, उज्जर गोन्या र टेनीह्या झुल्वा लगाउँदा आफ्नै संस्कृतिसँग जोडिएको अनुभूति हुन्छ,' उनले भनिन् । त्यसैले औपचारिक कार्यक्रमहरूमा आफ्नै वेशभूषामा सहभागी हुने गरिएको उनको भनाइ छ ।
'हाम्रो भाषा र संस्कृतिको संरक्षण हामीले नै गर्नुपर्छ भन्ने सोचले हामी अग्रजहरूसँग सिक्दै अघि बढिरहेका छौं,' प्रमिलाले थपिन् ।
अनिमा, प्रमिला र ममतासँगै ममता चौधरीले पनि अध्ययनसँगै संस्कृतिको संरक्षणलाई आफ्नो दायित्वका रूपमा लिएको बताइन् ।
'हामी कलेजका मात्रै विद्यार्थी होइनौं, हाम्रो भाषा, साहित्य र संस्कृतिका पनि विद्यार्थी हौं,' उनले भनिन् । कक्षाको पढाइसँगै समुदायको परम्परागत संस्कारलाई व्यवहारमै उतार्ने प्रयास गरिरहेको उनको भनाइ छ ।
यी तीन युवतीको पहलले स्थानीय तहमा मात्र नभई व्यापकरूपमा सांस्कृतिक चेतना फैलाउने संकेत देखिएको छ । परम्परा र आधुनिकताको बीचमा आफ्नै मौलिक पहिचान जोगाउने उनीहरूको अभियान प्रेरणादायी उदाहरण बनेको छ । पछिल्लो समयमा आधुनिकताको प्रभावसँगै थारू कला, संस्कृति र गीत–संगीत हराउँदै गएको भएपनि यसको संरक्षणमा युवापुस्ताको भूमिका महत्वपूर्ण मानिन्छ ।
युवापुस्ताले आफ्नो भाषा, भेषभूषा र संस्कृतिलाई गर्वका साथ अंगाल्न सके मात्र यस्ता मौलिक सम्पदाहरू दीर्घकालीनरूपमा जोगिन सक्ने देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार