काठमाण्डौ : साँझपख सानेपाबाट तरकारी किन्न कालीमाटी बजारमा पुगेका विष्णुप्रसाद अधिकारी बजारमा किन्ने तरकारी नदेखेपछि निराश भएर फर्किए।
बिहीबार आमाको वार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न भतिजसहित कालीमाटी बजारमा आएका उनले भने, ‘आलुसहित अन्य हरियो तरकारी लैजाने भनेर दुुई वटा स्कुटर लिएर आयौँ, बजारमा तरकारी नै छैन, आलु र तामा लिएर हिड्यौँ।’ उनीजस्तै ठूलो भर् याङको सरकारी विद्यालयका शिक्षिका मतिना पोखरेलले पनि कालीमाटीमा खोजे जस्तो तरकारी पाइनन्।
शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारी केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने गरेको र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किने गरेको बताउँछन्।
कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यको भान्सामा समेत साउन १ देखि तरकारी पाकेको छैन। उनका अनुसार यो समयमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुुवाकोट, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गरेका छन्, तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन। त्यसैले उपत्यकामा तरकारी अभाव भएको हो।
यता वर्षाका कारण मकवानपुर भीमफेदी गाउँपालिका तरकारी किसान प्रमोद थापाले उत्पादन गरेको तरकारी सडक अवरुद्ध हुँदा बारीमै कुहिएको बताए। उनले फेसबुुकमार्फत सिजनल तरकारी लौका, करेला, घिरौँला, तने बोडी र गोलभेडा कुहिएर फाल्नु परेको पीडा व्यक्त गरेका छन्। उनी त एउटा प्रतिनिधि मात्रै हुन्। लगातारको वर्षाले सडक भत्किँदा धेरै किसानले तरकारी बारीमै कुहिएर फाल्नु परेको छ ।
राष्ट्रिय कृषक महासंघका अनुसार तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी संकलन र ढुवानीमा समस्या भइरहेको छ । देशभरि हरियो तरकारी सङ्कलन तथा ढुवानीमा समस्या हुँदा किसानले ठूलो नोक्सान भोग्नु परेको जनाएको छ । हरेक बर्खामा किसानले यस्तै समस्या भोग्नु परे पनि सरकारले समाधानका लागि ध्यान दिन सकेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार