यदुराज मिश्र/डुडुवा (बाँके) : बर्खे, हिउँदे मकैको खेती गर्दै आएका बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । बाबु बाजेको पालादेखि तरकारी खेती गर्दै आएका हिरमिनियावासीले पछिल्लो समय मकै खेती गर्न थालेका छन् ।
डुडुवा गाउँपालिका– ६ बल्दीपुर्वाका किसान गुरुदीन यादवले ६० कठ्ठा क्षेत्रफलमा बसन्ते मकै खेती गरेका छन् । आलु भित्र्याएलगत्तै बेमौसमी मकै लगाएको बताउँदै उनले बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै लगाउने गरेको जानकारी दिए ।
मकैमा राम्रो आम्दानी हुने गरेको बताउँदै डुडुवा ६ भंघोटनाका किसान जयपाल मौर्यले एक कठ्ठामा ४ क्विन्टल मकै उत्पादन हुने गरेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको मौर्यको भनाई छ ।
उनले ‘तरकारी खेतीभन्दा मकैबाट धेरै फाइदा हुने भएपछि हिरमिनियाका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन्,’ । २० वर्ष पहिला ३० कट्ठा जमिनबाट मकै खेती शुरु गरेका मौर्यले अहिले ९० कट्ठामा मकैखेती गरेको जानकारी दिए । उनले खेतको राम्रो हेरचाह गरेको खण्डमा राम्रो उत्पादन गर्न सकिने उल्लेख गरे । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भएपनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको छ । कम जग्गा भएकाहरू तरकारी खेती गरी आफै बजारमा लगेर बिक्री गर्ने गरेको बताउँदै उनले भने,‘हामी पनि पहिले तरकारी खेती गथ्र्यौँ । मकैबाट राम्रो फाइदा भएपछि तरकारी खेती छाड्यौँ ।,’
हिरमिनियाका किसानले मकै खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । मकैलाई नगदे बालीका रूपमा लिएका हिरमिनियाका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गर्दै आएका छन् । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै श्रम र लागतमा समेत कमी आएको छ । मौर्यले बाहिर मजदुरी गर्न जाने महिला पुरुषलाई स्थानीयस्तरमा रोजगारी दिएर विदेश जानबाट रोक्ने काम गरेको बताए । उनले भने, “हाम्रो मोर्निङ वाक खेतमा काम गरेर बित्ने गरेको छ । मौर्यले मकैको बिउ छर्ने, गोडमेल गर्ने, खोसेल्टा नङ्ग्याउने, दाना छोडाउने लगायतको कामका लागि स्थानीयलाई अवसर दिने गरेको बताए ।
बल्दिपुर्वाका किसान यादवले भने, ‘मकै नगदे बाली हो । समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको वेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा रहँदैन ।,’
मकै र तरकारी खेतीबाट हिरमिनियाले आफ्नो परिचय मात्र बनाएको छैन, यहाँका किसानले मनग्य आम्दानीसमेत गर्दै आएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । थोरै जमिनबाट धेरै आम्दानी गरेकै कारण हिरमिनियाका किसानलाई खान, लाउन पुगेको भन्दै उनले तरकारी र मकै खेतीका लागि सिचाईको उचित व्यवस्था नहुँदा किसानलाई समस्या भए पनि स्थानीयले आफ्नै लगानीमा बोरिङ जडान गरेर सिचाई गर्दै आएको जानकारी दिए । सिक्टा सिचाई आयोजनाको नाम सुन्ने गरे पनि कहिले आउने हो थाहा नभएको बताउँदै वडाध्यक्ष मिश्रले भने, ‘सिक्टाका लागि जमिन छुट्याइ सकिएको छ सरकारले सिँचाईको व्यवस्था गरिदिए खेतीका लागि सहज हुने थियो ।”
डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माका अनुसार डुडुवामा ४ सय ७५ हेक्टर क्षेत्रफलमा बसन्ते मकैको खेती गरिएको छ । डुडुवामा वडा नं. २, ३, ४, ५ र ६ मा मकै खेती गरिएको उनले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी डुडुवा ६ हिरमिनियामा दुई सय ५० हेक्टर जमिनमा बसन्ते मकै खेती गरिएको शर्माले बताए । गत वर्ष बसन्ते मकै खेतीको क्षेत्रफल कम भएपनि यसवर्ष डुडुवाको अधिकाँश वडामा मकै खेतीको विस्तार भएको कृषि शाखा प्रमुख शर्माको भनाई थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार