दाङ : तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् । छिल्लीकोटका करिब ६५ घर धुरीका किसानहरूले व्यावसायिकरूपमै बारीमा अदुवा खेती गर्दै आएका छन् ।
तुलसीपुर १९ छिल्लीकोट खानी गाउँका किसान परवीर पुनले यस क्षेत्रमा वार्षिकरूपमा तीन सय पचासदेखि चार सय क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताए । पुनका अनुसार गत वर्ष किसानहरूले १२ हजार प्रति क्विन्टल बारीबाटै बिक्री गरेका थिए ।
तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले अदुवाको बजार मूल्य पाँच हजार प्रति क्विन्टल छ । घिमिरेका अनुसार गतवर्ष किसानबाट प्रति क्विन्टल २३ हजार रुपैयाँमा खरिद गरिएको थियो ।
तुलसीपुर १९ खानीगाउँकै सबैभन्दा बढी अदुवा खेती गरेका भोजराज पुनले बजार मूल्य नपाएपछि अदुवा बारीमै रहेको बताए । पुनले भने, बजार मूल्य नै छैन, अदुवा खनेर के गर्ने, त्यही भएर बारीमै रहन दिएका छौँ । पुनले २०५२ सालदेखि व्यावसायिकरूपमै अदुवा खेती गर्दै आएका छन् । पुनले यो वर्ष २५ क्विन्टल अदुवा उत्पादन हुने बताए ।
अदुवा बिक्री नभएपछि लामो समयसम्म सुरक्षित राखेर बिक्री गर्नका लागि सुठो समेत बनाएर राख्ने गरेको पुनले बताए । पुनका अनुसार सुठो प्रति क्विन्टल ३५ हजारदेखि ४० हजारसम्म बिक्री हुने गरेको छ ।
छिल्लीकोटका किसानहरूले मालागेडीपछि अदुवाको व्यवसायिकरूपमा खेती गर्दै आएका छन् । भिरालो जमिनमा अदुवा राम्रो फल्ने गरेको अर्का किसान विकास खड्काले बताए । खड्काले करिब १२ कठ्ठा जग्गामा अदुवा खेती गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार