दाङ : लमही नगरपालिका–७ गिधिनिया निवासी गीता चौधरी खुर्सानी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएकी छन् । दश कट्ठा जमिनमा खुर्सानी खेती गरेकी गीताले खुर्सानी बिक्री गरेर परिवारको खर्चसँगै बचत गर्दै आएकी हुन् ।
व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउँछिन् । सिँचाइका लागि पानीको सुविधासँगै बिक्रीका लागि समस्या नहुने भएपछि गत वर्ष चार लाख बढीको खुर्सानी बिक्री गरेको बताइन् ।
गाउँमा फुटकरमा सय रुपैयाँ प्रतिकेजी र थोकमा व्यवसायीलाई दिदा ७०–८० रुपैयाँका दरले बिक्री गर्दै आएको बताएकी चौधरीले यो वर्ष हालसम्म डेढ लाख मूल्य बराबरको खुर्सानी बिक्री गरिसकेको बताइन् ।
उत्पादन भएको खुर्सानी बिक्री भइरहेको भन्दै चौधरीले भनिन, “अहिलेसम्म करिब एक लाख मूल्य बराबरको बिक्री भइसकेको छ । चैतसम्म उत्पादन लिने भएकाले चार लाख बढी रुपैयाँ पुग्ने अनुमान छ ।“
अन्य तरकारी खेतीभन्दा खुर्सानी खेती गर्न सहजतासँगै लामो समयसम्म आम्दानी लिन सकिने भएकाले खुर्सानी खेती गर्न थालेको बताइन् । सानो परिवारले पनि धेरै खेती गरेर आम्दानी लिन सक्ने भन्दै चौधरीले भनिन, “खुर्सानीबाट राम्रो आम्दानी भइरहेको छ । सानो परिवारले खुर्सानी रोपेर राम्रो फाइदा भइरहेको छ ।“ खुर्सानी खेतीबाट लामो समयसम्म आम्दानी लिन सकिने र बिग्रिने समस्या नहुने भएकाले व्यावसायिक खेतीमा लागेको बताइन् ।
गाउँमा २–४ कट्ठा जमिनमा खुर्सानी खेती गर्ने धेरै किसान भएपनि व्यवसायिक रुपमा ठुलो क्षेत्रमा थोरै मात्र किसानले खुर्सानी खेती गर्ने गरेको बताइन् । आर्थिक अभावका कारण कुनै समय तीन जनाको परिवार पाल्नका लागि अरुको भर पर्नुपर्ने अवस्था भएपनि खुर्सानी, टमाटर लगायतको खेती गर्न थालेपछि बचत समेत हुन थालेको उनी बताउँछिन् ।
आर्थिक अभावका कारण कुनै दिन श्रीमान् बिरामी पर्दा उपचार गर्ने गाउँमा रुपैयाँ समेत नपाएको भन्दै चौधरीले भनिन, “अहिले घरमा समस्या पर्दा पैसा खोज्न अन्त जानुपर्ने अवस्था छैन ।“ उनका अनुसार खुर्सानीबाट भएको आम्दानीले घर परिवारको खर्चसँगै बच्चालाई पढाउन सजिलो भएको छ । उत्पादन भएको खुर्सानी लमही, घोराही लगायतका बजारमा व्यवसायीले लैजाने गरेको उनी बताउँछिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार