दाङ : माघे सङ्क्रान्ति नजिकिँदै गर्दा दाङको राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त छन् । लमही नगरपालिका–७ गिधनियास्थित राप्ती नदीले बगर बनाइदिएको करिब डेढ बिघा जमिनमा सखरखण्डको खेती गरेका यादव माघे सङ्क्रान्तिमा बिक्री गर्नका लागि खन्न थालेको बताए ।
माघे सङ्क्रान्तिमा सखरखण्डको महत्वसँगै मूल्य महँगो हुने भएकाले कामदार लगाएर सखरखण्ड खन्ने काम गरिरहेको यादवले बताए । व्यवसायीले मागेको समयमा आफ्नो उत्पादन दिन सके रोपेकै ठाउँबाटै बिक्री हुने गरेको बताउँछन् । डेढदेखि दुई बिघा जमिनमा सय क्विन्टल सखरखण्ड उत्पादन गर्ने लक्ष्य लिएका यादवले सिजनमा बिक्री गरेर दुई लाख ५० हजारसम्म आम्दानी गर्ने सोच रहेको बताए ।
प्रतिकिलो ४५–५० रुपैयाँका दरले खेतबारीबाटै सखरखण्ड बिक्री गरिरहनुभएका यादवले सिजनमा ४ लाख बढीको बिक्री गर्ने र सबै खर्च कटाएर दुई लाख बढी बचत गर्ने आशामा छन् । बोटमा किरा लागेर गतवर्ष उत्पादन घट्दा डेढ लाख रुपियाँ आम्दानी गरेका यादवले अहिले राम्रो फल लागेकाले आम्दानी बढ्ने भन्दै भने, “गएको वर्ष बोटमा किरा लाग्दा राम्रो उत्पादन हुन सकेन । अहिले राम्रो फल लागेको छ, उत्पादन बढ्ने आशा छ ।“ परिवारको मुख्य आम्दानीको श्रोत भएको भन्दै यादवले समयमै उत्पादन तयार गर्न सके सखरखण्ड घोराही, तुलसीपुरका व्यवसायी खेतबारीमै आएर लाग्ने गरेको बताउँछन् ।
यादव जस्तै लमही नगरपालिका–७ गिधनिया निवासी गीता चौधरीले दुई बिघा जग्गामा व्यावसायिक सखरखण्ड खेती गरेका छन् । अन्य कृषिबालीको तुलनामा कम मेहनतमै बढी आम्दानी हुने र बिक्रीका लागि समस्या नहुने भएकाले सखरखण्डको खेतीमा लागेको भन्दै चौधरीले करिब दुई लाख मुल्य बराबरको बिक्री भएको बताए । चौधरीले नेपालगञ्जको व्यवसायीलाई सखरखण्ड बिक्री गरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार