Listen LIVE

डुडुवा ६ मा निःशुल्क आँखा परीक्षण

नेपालगञ्ज : बाँकेको डुडुवा गाँउपालिका–६ मा दुई सय २० जनाको आँखा जाँच भएको छ । भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेशन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र एक सय ३० जना महिला गरेर कुल दुई सय २० जना बिरामीको आँखा जाँच गरिएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए ।

कात्तिक १ र २ गते हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतियाबिन्दुको समस्या देखिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराए । उनका अनुसार यो संख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् ।

शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाबिन्दुको समस्या देखिएको छ । अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए ।

कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमितरुपमा १४ गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।

आँखाको समस्या भएकालाई सम्बन्धित औषधि शिविरमै पाउने र चस्मा पनि सहुलियत मुल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेशनका उपाध्यक्ष रामदिन मोदीले जानकारी गराए ।

उनले आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको बताए ।यस्तै, कात्तिक ४ गते अस्थाई स्वास्थ्य केन्द्र दलैपुर र कात्तिक ५ गते डुडुवा ५ कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने तयारी छ । शिविर बिहान साढे १० बजे देखि ३ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया