Listen LIVE

टिमुरबाट राम्रो आम्दानी गर्दै प्युठानका किसान

प्युठान : नौबहिनी गाउँपालिका–७ फोप्लीका कमल पुनमगरले यो वर्ष झन्डै पाँच मुरी टिमुर बेचे । आफ्नै निजी खरबारीमा लगाएका टिमुर बेचेर ८० हजार रुपैयाँ आम्दानी गरे । उनले बर्सेनि टिमुर विक्री गरेर राम्रो आम्दानी गर्दै आका छन् ।

खरबारीमा दुई सय टिमुरका बोट रहेको पुनमगरले बताए । १२ सय रुपैयाँ पाथीसम्म टिमुर विक्री गरेको अनुभव सुनाउँदै उनले यो वर्ष आठ सय रुपैयाँ पाथी टिमुर विक्री गरेको बताए । पहिले बजार नपाएर टिप्न समेत जाँगर नगर्ने धेरै किसान अहिले टिमुर खेतीतर्फ आकर्षित भएका छन् । 

बोटमै खेर जाने टिमुरको मूल्य र माग बढेपछि किसानहरूले राम्रो आम्दानी गर्न थालेका हुन् । जिल्लाका स्वर्गद्वारी, कोचिवाङ, फोप्ली, डामृ, लिघा, माझकोट, जुम्रीकाँडामा टिमुर खेती हुने गरेको छ । सामुदायिक वनसँगै किसानले आफ्नै बारीमा समेत टिमुरको बिरुवा लगाउन थालेका छन् । 

पछिल्लो समय बर्सेनि टिमुरका बिरुवाको माग बढ्दै गएको गौमुखी गाउँपालिका–६ लिवाङका नर्सरी व्यवसायी पदम बहादुर केसीले बताए । “टिमुरको वेर्नाको माग बढी हुने गरेको छ,” उनले भने, “पहिले जङ्गलमा मात्र लगाउने गरेकोमा अहिले बारीमा समेत लगाउन थालिएको छ ।” टिमुरबाट राम्रो आम्दानी हुने भएकाले समेत किसानहरू यसतर्फ आकर्षित भएको उनी बताउँछन् ।

व्यवसायी रेसम कुवरले जिल्लामा अहिले ग्रेडिङ नगरेको पाँच सय रुपैयाँ केजी र ग्रेडिङ गरेको ८५० देखि नौ सय रुपैयाँसम्म पर्ने गरेको बताए । पुनम मसला उद्योग सञ्चालन गर्दै आएका कुवरले जिल्लाबाट नेपालगञ्ज र काठमाडौँ विक्री गर्ने गरेको बताए । 

डिभिजन वन कार्यालय प्युठानको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८–०७९ मा ६ हजार ७२९ केजी, ०७९–०८० मा तीन हजार २६५ केजी र ०८०–०८१ मा १३ हजार ९८५ केजी निकासी भएको छ । बर्सेनि एक करोड बढी मूल्यको टिमुर बिक्री हुने गरेको छ । उत्पादन भएको टिमुर नेपालगन्ज र वीरगन्ज नाका हुँदै भारत पुग्ने गरेको व्यवसायी बत्ताउँछन् । टिमुरको प्रशोधनका लागि स्वर्गद्वारीमा स्वर्गद्वारी मसला उद्योग र विजुवारमा स्वर्गद्वारी हर्बल उद्योग स्थापना भएको छ ।

प्रतिक्रिया