Listen LIVE

बर्दियामा उत्पादित सुनकागती काठमाण्डौ पठाउन शुरु

बर्दिया : बर्दियामा उत्पादित अर्गानिक सुन कागती पहिलो पटक काठमाडौंको बजारसम्म लैजान थालिएको छ । गुलरिया नगरपालिका–३ मा रहेको समावेशी कृषि फर्मले उत्पादन गरेको अर्गानिक सुन कागती पहिलो पटक बिक्रीका लागि काठमाडौंको बजारसम्म लैजान शुरु गरिएको हो । 

पहिलो पटक काठमाडौंको लागि २५ क्वीन्टल सुन कागती पठाइएको मधुवन नगरपालिका–४ का युवा कृषक सुरेश पन्थले बताए । 'यसअघिको उत्पादन लोकल मार्केट गुलरिया र नेपालगन्जमा खपत भइरहेको थियो,' उनले भने, 'तर, ११ बिघामा एकै पटक उत्पादन हुन थालेपछि ठूलो बजार खोज्न परेको हो ।'

पन्थले मधुवन नगरपालिका– ८ स्थित आफ्नै तीन बिघामा परीक्षणको रुपमा सुन कागती खेती गरेपछि  गुलरिया नगरपालिका–३ स्थित ८ बिघा जग्गा भाडामा लिई सुन कागती खेती विस्तार गरेका थिए । बाह्रैमास फल्ने सुन कागती तीन वर्षदेखि निरन्तर उत्पादन दिने भए पनि चौथो वर्ष देखि उत्पादन उलेख्य रुपमा बढेको छ । कागती खेतीमा प्राङ्गारिक मल मात्र प्रयोग गरेर अर्गानिक उत्पादन गरिरहेको कृषक पन्थले जनाएका छन् । अर्गानिक सुन कागती देखेर कागती व्यापारीहरु लिनको लागि खेतसम्म पुगेको उनको भनाइ छ । 

पहिलो लटमा खेतबाट प्रति किलोग्राम एक सय रुपैयाँको दरले २५ क्वीन्टल सुन कागती काठमाडौंको लागि व्यापारीले लगेको कृषक पन्थले बताए । 

'सिजनमा कागती प्रति किलोग्राम एक सयमा बिक्री हुन्छ, अफ सिजनमा प्रति किलोग्राम  १ सय ५० देखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । कागतीको एउटा बोटले वार्षिक एक सय किलोग्रामसम्म उत्पादन दिन्छ । हामीसँग ४ हजार ६ सय १० कागतीका बोट छन् ।' यस्तै मल,जल र लेबर खर्चमा वार्षिक १० देखि १२ लाखसम्म खर्च भईरहेको कृषक पन्थले जनाए ।

मेहनत गरे कृषि कर्मबाट राम्रो आम्दानी लिन सकिने बेरोजगार युवाहरुलाई कृषक पन्थको सुझाव छ । 'आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर मनग्य आम्दानी गर्न सकिन्छ,' उनले भने, 'कृषिमा केही छैन भन्ने भाष्य सरासर गलत हो । कृषि कर्ममा विश्वास गरि निरन्तरता दिएमा वश्य सफलता मिल्छ ।'

पछिल्लो समय भारतबाट न्युन रुपमा कागती आयात हुँदा स्वदेशी किसानलाई कागती बिक्री गर्न सहज भइरहेको दाङ लमही नगरपालिका–९ का कृषि प्राविधिक तथा कागती व्यापारी ललित चौधरीले बताए । 

'हालसम्म लुम्बिनी प्रदेशको अन्य जिल्लाबाट कागती खरिद गरि काठमाडौंको लागि आपूर्ति गरिरहेको थिए,' उनले भने, 'बर्दियामा पनि राम्रो कागती खेती भईरहेको रहेछ । पहिलो पटक बर्दियाको अर्गानिक कागती काठमाडौंको लागि लैजाँदैछु ।' 

काठमाडौंका कागती व्यापारीहरु बर्दियाको खेतमा कागती लिन पुग्दा अन्य कागती खेती गर्ने किसानलाई कागती बिक्री गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया