प्युठान : प्युठान नगरपालिका–७ टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ ।
भैँसीको स्याहार, दूध दुहुनेदेखि बजार पु¥याउनेकाम अहिले केवल पेशा होइन, जीवनशैलीकै रूपमा स्थापित भएको छ ।
तीन वर्षअघि कपिलवस्तुबाट ३ वटा भैँसी किनेर सुरु गरिएको पशुपालन व्यवसाय अहिले ‘प्रगति कृषि तथा पशुपंक्षी फार्म’ को नामले परिचित भएको छ । हाल उनीसँग १० वटा हरियाना जातका मुर्रा भैँसी छन्, जसमध्ये चार दुहुना छन् । तीबाट दैनिक ५५–६० लिटर दूध उत्पादन हुने गरेको छ ।
‘दैनिक ५० लिटर दूध बिक्री गर्छु,’ खिमाले भनिन, ‘डेरीलाई प्रतिलिटर ८० र घरमै ग्राहकलाई १ सय रुपैयाँमा बिक्री हुन्छ ।’
उक्त व्यवसायबाट खिमा मासिक झण्डै ५० हजार रुपैयाँ आम्दानी गरिरहेकी छन् । गोठ निर्माण र भैंसी खरिदमा सुरुमा ७ लाख रुपैयाँ लगानी गरेकी उनले हालसम्म करिब १५ लाख रुपैयाँ लगानी गरिसकेकी छन् ।
‘श्रीमान् ट्राफिक प्रहरीको हवल्दार हुनुहुन्छ । उहाँको मात्रै तलबले घर खर्च चलाउन गाह्रो हुन्थ्यो,’ खिमाले भनिन, ‘भैँसी पालनपछि आम्दानी मात्र होइन, आत्मविश्वास पनि बढेको छ ।’
चार रोपनी जग्गामा हरियो घाँस उत्पादन गर्दै आएकी उनले सुख्खा समयमा भने कपिलवस्तु लगायतका क्षेत्रबाट पराल र गहुँको भूसा खरिद गरेर व्यवस्थापन गर्छिन् ।
कक्षा १२ अध्ययन गरेकी खिमाका दुई छोरा र एक छोरी छन् । ‘श्रीमान्, सासुआमा र भाइबहिनीको सहयोगले यो सम्भव भएको हो,’ खिमाले भनिन, ‘श्रीमान् अवकाश पाउँदा व्यवसाय थप विस्तार गर्ने योजना छ ।’
प्युठान नगरपालिकाको पशु विकास शाखाबाट प्राविधिक सल्लाह लिँदै आएकी खिमा हाल झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारीमार्फत बाग्दुलामा दूध बिक्री गर्दै आएकी छन् । ‘दूधमा अनुदान पाइन्छ भनेर सहकारीमार्फतै बिक्री गर्न थालेकी हुँ,’ उनले बताइन् ।
उनले घरमै दूध प्लाष्टिक प्याकिङ गरी ग्राहकसम्म पुर्याउने अभ्याससमेत गर्न थालेकी छन् । स्थानीय कृषक खिमा स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार