गुल्मी : गुल्मीमा वार्षिक साढे चार अर्ब रुपैयाँ बढीको पशुजन्य उत्पादन हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार मासु, दुध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख चार हजार रुपैयाँ बराबरको पशुजन्य उत्पादन हुने गरेको हो ।
गुल्मीमा वार्षिक एक अर्व ८४ करोड ३८ लाख १५ हजार रुपैयाँको दुध उत्पादन हुने गरेको छ । गाईको दुध ६ हजार ३८१ मेट्रिक टन उत्पादनबाट हुने गरेको छ । अहिलेको बजार मुल्यअनुसार ४४ करोड ६६ लाख ७० हजार रुपैयाँ हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए ।
पाण्डेयका अनुसार भैँसीको दुध १६ हजार ४३७ मेट्रिक टन उत्पादन हुने गरेको छ । जसको बजार मुल्य एक अर्ब ३९ करोड ७१ लख ४५ हजार रुपैयाँ रहेको छ । गत वर्षभन्दा अहिले २.५१ प्रतिशत दुध उत्पादन वृद्धि भएको छ । अहिले जिल्ला बाहिर प्रत्येक दिन पन्ध्र सय लिटर दुध निर्यात हुने गरेको छ ।
सत्यवति, रुरु क्षेत्रका फर्महरुबाट बढी दुध बिक्री भइरहेको छ । दैनिक २०० लिटर घिउ र पनीर पनि निर्यात हुने केन्द्र प्रमुख पाण्डेयले बताए । उनले गुल्मीमा राँगो, खसीबोका, कुखुरा, सुङ्गुर र बुङ्गुर तथा भेडाको दुई अर्ब ५८ लाख २३ लाख चार हजार रुपैयाँ बराबरको मासु उत्पादन हुने गरेको बताए ।
राँगो, खसीबोका, कुखुरा, सुङ्गुर–बुङ्गुर र भेडाको क्रमशः दुई हजार ४७५, एक हजार १७५, ७१६, २९६, चार मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । गत वर्षभन्दा अहिले राँगाको मासु उत्पादन भने घटेको छ । जिल्लामा १९ करोड ४१ लाख ७५ हजार रुपियाँ बराबरको अण्डा उत्पादन हुनेगरेको छ ।
जिल्लामा पशुजन्य उत्पादन राम्रो हुँदै गए पनि सरकारले भौतिक पुर्वाधारलाई केन्द्रमा राखेर कृषि र पशु कार्यालयको बजेट घटाउनु दुःखद विषय भएको जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले बताए । उनले कृषि, पशुपालनमार्फत उद्यम र रोजगारी सिर्जना गर्नेकुरा ओझेलमा पर्दै गएको बताउँदै प्रदेशको प्राथमिकता नै बुझ्न नसकिएको बताए ।
उनले भने, “एउटा पुल, सडक र भवनमै चार–पाँच करोड बजेट छ । तर, बिडम्बना जिल्लाभर कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने कार्यालयको बजेट मुस्किलले साढे तीन करोड मात्र छ ।”
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको गत वर्ष चार करोड २८ लाख रुपैयाँ बजेट रहेको थियो । अहिले प्रदेश सरकारले ३५ प्रतिशत बजेट घटाएर प्रस्ताव गर्न भनेको छ । केन्द्रले अहिले योजना तर्जुमा गरेर तीन करोड ६१ लाख रुपैयाँ बराबरको योजना तथा बजेट प्रस्ताव गरेको छ ।
काठमाडौंमा डिग्री सकेर गाउँ फर्किएर व्यावसायिक पशुपालन गरेका धुर्कोट गाउँपालिका –५ का ४३ बर्षीय रबिन्द्र घिमिरेले सरकारले सहुलियत कर्जा र कामदार दिए गाउँमै समृद्धिको सम्भावना रहेको बताए । काठमाडौंबाट २५ वर्षपछि गाउँ फर्किर २०७८ सालबाट पशुपालन व्यावसायमा लागेका घिमिरेले आफ्नै फर्म र गाउँको दुध सङ्कलन गरेर बिक्री गर्छन् । सवा करोडको व्यावसायिक लगानीको योजना बनाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार