Listen LIVE

एएफसी महिला च्याम्पियन्स लिग : एपिएफलाई पिएफसी नासाफविरुद्ध बदला लिने अवसर

इलाम : एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा  एपीएफ क्लब र उज्वेकिस्तानको पिएफसी नासाफ आज प्रतिस्पर्धा गर्दैछन्। समूह ‘बी’ अन्तर्गत हुने खेल मार्काजी रंगशाला उज्वेकिस्तानमा नेपाली समयअनुसार बेलुकी ९ः१५ बजे सुरु हुनेछ। उज्वेक टोली विरुद्ध एपिएफलाई गत बर्षको पराजयको बदला लिने अवसर बन्नेछ।

दुवै टोलीबीच अहिलेसम्म एक पटक प्रतिस्पर्धा भएको छ। २०२४ अगस्ट २५ मा भएको खेलमा नासाफले एपीएफलाई १–० ले पराजित गरेको थियो। खेलको ४९ औँ मिनेटमा नासाफकी लिली निबर–लरेन्सले गरेको गोल निर्णायक बनेको थियो। समूह सी मा गत संस्करणमा नासाफ विरुद्ध १–० ले पराजित  रहेको एपिएफले सवाह फुटबल एसोसिएसन मलेसिया विरुद्ध गोलरहित बराबरी खेलेको थियो।

सो समूहबाट सवाहले एएफसी महिला च्याम्पियन्स लिग खेलेको थियो। 

घरेलु लिगमा एपीएफले सानदार प्रदर्शन गर्दै पछिल्लो सिजनमा अपराजित रुपमा उपाधि जितेको थियो। १८ खेल जित र १ बराबरीसहित शीर्ष स्थानमा रहँदै एपीएफले एन्फा महिला लिग जितेको हो। यही प्रदर्शनलाई आधार बनाएर टोलीले अन्तर्राष्ट्रिय स्तरमा पनि बलियो प्रतिद्वन्द्वी बन्ने आत्मविश्वास लिएको छ।

उज्वेकिस्तानमा उपाधिको दाबेबारी प्रस्तुत गर्न एपिएफले नेपाल पुलिसकी समीक्षा घिमिरे र त्रिभुवन आर्मीकी विमला विकलाई टिममा भित्र्याएको छ। एपिएफको टिममा गत संस्करणमा समेत खेलेका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा र हिराकुमारी भुजेल हुनेछन्।

हिरा इन्जुरीबाट फर्किएकी छन्। एन्जिला ग्रिक क्लबबाट टर्किस क्लब जाने चर्चा चले पनि हालसम्म आधिकारिक रुपमा सार्वजनिक भएको छैन्। जोर्डनको क्लबमा अनुबन्ध भएको कारण प्रिति राई एपिएफको टिममा हुनेछैनन्। तर उनी आवद्ध टिम क्लब इतिहादले आज नै लायन सिटी सिंगापुरसंग खेल्नेछ। 

प्रतियोगिताको लागि प्रशिक्षकको रुपमा पुलिसबाट चेतन घिमिरेलाई भित्र्याएको छ। एपिएफमा गत जुनमा सम्पन्न एएफसी एसियन कप क्वालिफायरमा सहभागी राष्ट्रिय टिमका १५ जना खेलाडीहरू समावेश छन्। टिममा केही पूर्व राष्ट्रिय खेलाडी र उमेर समूहका खेलाडीहरू समेत समावेश छन्।  एपीएफका प्रशिक्षक चेतन घिमिरेले खेलअघि प्रतिक्रिया दिँदै टोलीले अघिल्लो हार दोहोर्याउन नदिने दाबी गरेका छन्।

’एएफसी महिला च्याम्पियन्स लिगमा हाम्रो दोश्रो सहभागिता हो। हामी दोस्रो चरणमा क्वालिफाई गर्न आएका हौं। मैले हेर्दा २–३ क्लबहरू बलिया देखिन्छन्। तर हामी पनि अहिले धेरै बलिया भएका छौँ। आशा छ हामी नतिजाका लागि लड्नेछौँ र राम्रो फुटबल खेल्नेछौँ। हाम्रो नेपालमा महिला फुटबलको विकास दिन प्रतिदिन माथि उठ्दै गएको छ’, उनले भने। 

समूह ‘बी’ अन्तर्गत नासाफ, एपीएफ र कलेज अफ एसियन स्कुल थाइल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। समूह विजेता टोली प्रतियोगिताको समूह चरणमा प्रवेश गर्नेछ।

प्रतिक्रिया